नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ता दियो निवेदन
२० कात्तिक, काठमाडौं । विभिन्न १० वाम दल र समूहको एकताबाट बनेको *नेपाली कम्युनिस्ट पार्टी*ले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ।
पार्टी गठनको घोषणा गरेको भोलिपल्ट, बिहीबार उक्त दलले निर्वाचन आयोगमा दर्ता निवेदन पेस गरेको हो।
नवगठित पार्टीमा साविक नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितका वाम दलहरू समावेश छन्। पार्टीको चुनाव चिन्ह पाँचकुने तारा प्रस्ताव गरिएको छ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले नेपाली कम्युनिस्ट पार्टीको दल दर्ता निवेदन प्राप्त भएको पुष्टि गरेका छन्।
आगामी २१ फागुनमा हुने निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूले यही ३० कात्तिकभित्र दल दर्ता प्रमाणपत्र लिइसक्नुपर्ने आयोगले जनाएको छ।
पार्टीका नेता शिव खकुरेलका अनुसार दल दर्ता निवेदनसँगै एकताको प्रतिबद्धतापत्र र घोषणापत्र पनि पेश गरिएको छ।
‘पार्टीको विधानलाई पूर्णता दिने काम जारी छ,’ उनले भने, ‘पदाधिकारी टुंगिएपछि आयोगमा विधानलगायतका अन्य आवश्यक कागजातहरू पेस गरिनेछ।’