विप्लवद्वारा जेन–जीको बलिदानलाई स्मरण गर्दै सरकारमाथि कटाक्ष
काठमाडौँ, २० कात्तिक – नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले जेन–जी आन्दोलनमा दिएको बलिदानको स्मरण गर्दै, निरंकुश हुँदै गएको वर्तमान सरकारलाई कठोर आलोचना गरेका छन्।
सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै काठमाडौंमा आयोजित प्रदर्शनमा विप्लवले जेन–जी पुस्ताले आफ्नो रगत दिँदै राज्यसत्तालाई खरानी बनाएको बताए। उनले भने, “जेन–जी आन्दोलनमा बलिदान गर्नेहरूले नेपाललाई कहिल्यै नबिर्सने गुण लगाएर गएका छन्। राज्यसत्ता अन्धो, बहिरो र निरंकुश थियो। जनताविरुद्ध तानाशाही बन्दै थियो।”
विप्लवले थपे, “जेन–जीले आफ्नो रगत र बलिदानमार्फत अहंकारी दलालहरूको सत्ता र संसदलाई थला पारेर आगोमा खरानी बनाइदिए। काठमाडौंको सडकमा नवयुवाको रगत अझै आलै रहेको छ, जलाइएका संरचनाहरू जीर्ण बनेर उभिएका छन्।”
उनको यो अभिव्यक्तिले वर्तमान राजनीतिक नेतृत्वमाथि असन्तुष्टि र युवापुस्ताको बलिदानको स्मरणलाई जोड दिएको छ।