दानबहादुर कार्की नेपाल प्रहरीका ३३औं आइजीपी नियुक्त
२४ कात्तिक, काठमाडौं । नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी)मा दानबहादुर कार्की नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत एआईजी कार्कीलाई नेपाल प्रहरीको ३३औं आइजीपीका रूपमा नियुक्त गर्ने निर्णय गरेको हो। प्रहरी नियमावलीअनुसार ३० वर्षे सेवा अवधि पूरा गर्न लागेका वर्तमान आइजीपी चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेदेखि अनिवार्य अवकाशमा जाने भएपछि सरकारले नयाँ नेतृत्व तोकेको हो।
कार्कीले २७ कात्तिकदेखि नेपाल प्रहरीको नेतृत्व सम्हाल्नेछन्। संगठनभित्र इमानदार र शिस्तप्रिय प्रहरी अधिकारीका रूपमा चिनिएका कार्कीले करिब साढे दुई वर्ष अर्थात् १७ चैत २०८४ सम्म प्रहरी प्रमुखको रूपमा काम गर्नेछन्। उनले १८ चैत २०५४ मा प्रहरी इन्सपेक्टरका रूपमा सेवामा प्रवेश गरेका थिए भने २६ मंसिर २०६६ मा डीएसपीमा बढुवा भएका थिए।
राजनीति शास्त्रमा स्नातकोत्तर गरेका कार्कीले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत दुई पटक पूर्वी टिमोर र एक पटक हाइटीमा सेवा गरेका छन्। डीआईजीका रूपमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयको कमाण्ड सम्हालेका उनले एसएसपी हुँदा काठमाडौं प्रहरी परिसरको नेतृत्वसमेत गरेका थिए। त्यही अवधिमा भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अगाडि बढेको थियो।
गत २४ भदौमा भएको जेनजी आन्दोलनका समयमा कार्कीले काठमाडौं उपत्यकाको कमाण्ड सम्हालेका थिए। त्यसअघि उनी प्रहरी प्रधान कार्यालयमा मानव स्रोत विभाग प्रमुखका रूपमा कार्यरत थिए। उनी फिल्डदेखि नीति निर्माण तहसम्मको अनुभव भएका संयमित र नीतिपरायण प्रहरी अधिकारी मानिन्छन्। कुनै ठूलो आर्थिक विवादमा नपरेका कार्की नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता समेत भइसकेका छन्।