समाजवाद निर्माणमा उदासीनता देखाएको भन्दै वामदेव गौतमको नेताहरूमाथि प्रश्न
१९ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमले संविधानमा उल्लेखित समाजवाद निर्माणको लक्ष्य कार्यान्वयन नगरेको भन्दै शीर्ष नेताहरूमाथि प्रश्न उठाएका छन्।
काठमाडौंमा जारी पार्टीको एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले पटक–पटक प्रधानमन्त्री भएका नेताहरूले समाजवाद निर्माणको दिशा किन नलिएको भन्दै आलोचना गरे।
‘२०७२ सालमा जारी संविधानको प्रस्तावनामै लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समृद्ध समाजवाद निर्माण गर्ने उल्लेख छ। तर हामीले त्यो दिशा किन लियौंन?’ गौतमले प्रश्न गरे, ‘हामी कति पटक प्रधानमन्त्री भयौं, मन्त्री भयौं — तर समाजवाद निर्माणका लागि के प्रयास गरियो?’
उनले संविधानमा लेखिएका विषय कार्यान्वयन नगर्ने तर नलेखिएका विषयमा बहस गर्ने प्रवृत्तिलाई गलत ठहर गर्दै नेताहरूसँग समाजवादी क्रान्तिको स्पष्ट परिभाषा मागे।
गौतमका अनुसार संविधानमा गरिएको व्यवस्थाअनुसार समाजवाद निर्माणमा बेवास्ता गरिँदा मुलुकमा अस्थिरता बढेको र प्रतिगामी शक्तिहरू पुनः सक्रिय भएका छन्।
‘समाजवाद निर्माणतर्फ नजाँदा नै अहिले राजा फर्काउने प्रयासदेखि जेनजी आन्दोलनसम्मका घटनाहरू देखा परेका छन्,’ उनले भने, ‘हामीले गर्नुपर्ने काम नगर्ने हो भने फेरि अर्कैले शासन गर्छ।’