सीके राउतको दल विभाजन रोक्न माग रिटमा आज सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले दल विभाजन रोक्न माग गर्दै दायर गरेको रिटको सुनुवाइ बुधबार सर्वोच्च अदालतको पूर्ण इजलासमा हुने भएको छ । न्यायाधीशत्रय सपना प्रधान मल्ल, सुनिल कुमार पोखरेल र मेघराज पोखरेलको इजलासमा सुनुवाइ तोकिएको हो ।
यसअघि राउतको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै निर्वाचन आयोगलाई नयाँ दल दर्ता प्रक्रियामा अघि नबढ्न निर्देशन दिएको थियो ।
राउतले आफ्नो पार्टी विभाजनको प्रयासविरुद्ध रिट दायर गर्दै निर्वाचन आयोगसमेतलाई विपक्षी बनाएका छन् । उनका अनुसार, उपाध्यक्ष दीपक साह नेतृत्वको समूहले करिब २० प्रतिशत केन्द्रीय कार्यकारिणी सदस्यको समर्थनमा ‘जनस्वराज पार्टी’ दर्ताका लागि आयोगमा निवेदन दिएको छ ।
तर, सर्वोच्चको आदेशपछि नयाँ दलको दर्ता प्रक्रिया यथास्थितिमा रोकिएको छ ।
जनमत पार्टीमा हाल ५२ जना केन्द्रीय कार्यकारिणी सदस्य छन् । उपाध्यक्ष अब्दुल खान यसअघि नै पार्टीबाट अलग भएका थिए ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा जनमत पार्टीले ६ सिट जित्दै राष्ट्रिय पार्टी बनेको थियो । हाल पार्टीले मधेस प्रदेश सरकारको नेतृत्व गरिरहेको छ ।