झलनाथ खनालले आज प्रचण्डलाई भेट्दै
नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्ने भएका छन्। भेटघाट गर्ने स्थल भने अहिलेसम्म टुंगो लागेको छैन।
खनालका अनुसार आफ्नी पत्नी जेन-जी आन्दोलनका क्रममा घाइते भएपछि विभिन्न दलका नेताहरूले देखाएको सद्भाव र मायाप्रति धन्यवाद प्रकट गर्न उनी भेटघाटमा लागेका हुन्।
खनालले हिजो पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर आफू र परिवारप्रति देखाइएको माया र सद्भावका लागि धन्यवाद दिएका थिए।
‘मैले नेताहरूलाई भेटेर राजनीतिक कुरा भन्दा पनि मप्रति देखाउनुभएको माया र सद्भावका लागि धन्यवाद दिन भेटेको हुँ,’ खनालले *खबरहब*सँग भने, ‘नेताहरूसँग मेरो भेट्ने क्रम जारी छ। हिजो केपी कमरेडलाई भेटेँ, आज प्रचण्ड कमरेडलाई भेट्दै छु। भोलि अन्य नेताहरूलाई पनि भेट्नेछु।’
खनालले ओलीसँगको भेटमा पनि मुख्यतः स्वास्थ्य अवस्था र पारिवारिक सम्बन्धका विषयमा कुराकानी भएको बताए।
राजनीतिक कुराकानीका क्रममा एमाले अध्यक्ष ओलीले एमालेमा प्रवेश गर्न इच्छुकहरूको हकमा समूहगत एकताभन्दा व्यक्तिगत प्रवेशमा जोड दिने बताएका खनालले जानकारी दिए।