एनपीएलमा आज दुई रोचक भिडन्त, कीर्तिपुरमा भव्य प्रतिस्पर्धा जारी
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणअन्तर्गत शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदै छन्। पहिलो खेल बिहान ११:१५ बजे कर्णाली याक्स र लुम्बिनी लायन्सबीच हुनेछ, जसको मुख्य आकर्षण कर्णालीका कप्तान सोमपाल कामी र लुम्बिनी तथा राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेलबीचको प्रतिस्पर्धा हुनेछ। चितवनसँग पहिलो खेलमा पराजित कर्णाली पहिलो जितको खोजीमा छ भने चितवनलाई ६ विकेटले हराउँदै उत्कृष्ट सुरुवात गरेको लुम्बिनी लगातार दोस्रो जितका लागि मैदान उत्रनेछ।
दिउँसो ३:३० बजे काठमाडौं गुर्खाज र विराटनगर किंग्स आमनेसामने हुनेछन्। राष्ट्रिय टोलीका फास्ट बलर तथा काठमाडौंका कप्तान करण केसी र लेग स्पिनर तथा विराटनगरका कप्तान सन्दीप लामिछानेबीचको भिडन्तले खेललाई झनै रोचक बनाउनेछ। दुई खेलमा एक जित र एक हारसहित दुई अंक जोडेको काठमाडौं पछिल्लो हारपछि बाउन्स ब्याकको प्रयासमा छ भने पहिलो खेलमै पोखरालाई ५३ रनले हराएको विराटनगर लगातार दोस्रो जितको लक्ष्यमा हुनेछ।
एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरमै दिउँसो र राति गरेर भइरहेका छन्। नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रत्येक खेलका लागि ९,४५० टिकट बिक्री गर्दै आएको छ। मंसिर १ देखि सुरु भएको लिग २७ गतेसम्म चल्नेछ। प्रतियोगितामा लिग चरण, तीन प्लेअफ र फाइनलसहित ३२ खेल हुने तय छ। शनिबारका खेलका लागि टिकट मूल्य साधारण ५०० र प्रिमियम १,५०० रुपैयाँ तोकिएको छ। लिग चरणका अन्य दिनमा टिकट दर ५०० र १,००० तथा प्लेअफका लागि १,००० र २,००० रुपैयाँ रहनेछन्। क्यानले सिजनल टिकटको मूल्य १५ हजार रुपैयाँ निर्धारण गरेको छ।
एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्ससहित आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।