मतदाता नामावली संकलनमा चाप बढेपछि आयोग ५ दिन म्याद थप्ने तयारीमा
२८ कात्तिक, काठमाडौं। मतदाता नामावली दर्तामा देखिएको उच्च चाप र उत्साहलाई मध्यनजर गर्दै निर्वाचन आयोगले पाँच दिन म्याद थप्ने तयारी गरेको छ।
आयोगले यसअगाडि कात्तिक मसान्तसम्म नाम दर्ता गर्न सकिने व्यवस्था गरेको थियो। तर, लगातार बढिरहेको सेवाग्राहीको भीडका कारण आयोगले म्याद थप्न लागिएको आयोग स्रोतले जनाएको छ।
यसअघि आजै प्रधानमन्त्री सुशीला कार्कीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई टेलिफोनमार्फत म्याद थप्न आग्रह गरेकी थिइन्। भण्डारीले पनि आयोग यसबारे सकारात्मक रहेको जानकारी प्रधानमन्त्रीलाई दिएका थिए।
राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा अनलाइन प्रणालीबाट मतदाता नाम दर्ता गर्न मिल्ने व्यवस्था खुलाएपछि हिजोदेखि नै अत्यधिक चाप देखिएको छ।
यस्तै, केही राजनीतिक दलहरूले पनि मतदाता नामावली दर्ताको समय बढाउन आयोगलाई आग्रह गरेका छन्।