नेपाल एयरलाइन्सका ‘डाइभर्ट’ अब भैरहवा विमानस्थलमा
काठमाडौँ — नेपाल एयरलाइन्सका विमान अब काठमाडौँबाट ‘डाइभर्ट’ हुनुपर्ने अवस्थामा भारतका विमानस्थलमा जानुपर्ने बाध्यता हट्दैछ। निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई वैकल्पिक अवतरण स्थलका रूपमा उपयोग गर्ने निर्णय गरेको छ।
निगमका प्रवक्ता अनिल घिमिरेका अनुसार मंसिर ३ गतेदेखि लागू हुने यो निर्णयले काठमाडौँमा अवतरण सम्भव नभएको अवस्थामा जहाज सीधा भैरहवा मोडिनेछ। यसअघि यस्तो अवस्थामा नेपाल एयरलाइन्सका विमानहरू भारतीय विमानस्थलमा ‘डाइभर्ट’ हुँदै आएका थिए।
प्रवक्ता घिमिरेका अनुसार वैकल्पिक विमानस्थल भैरहवा प्रयोगमा आएपछि निगमको खर्च कटौती हुने अपेक्षा गरिएको छ। साथै, निगमले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पनि वैकल्पिक स्थानका रूपमा प्रयोग गर्न सकिने सम्भावना अध्ययन थाल्ने निर्णय गरेको छ।
यस कदमले आन्तरिक दक्षता वृद्धि र सञ्चालन खर्चमा सकारात्मक प्रभाव पर्ने निगमको विश्वास छ।