बारा प्रशासन र जेनजी प्रदर्शनकारीबीच वार्ता सुरु, ६ बुँदे माग पेश
५ मंसिर, काठमाडौं – बारा प्रशासन र जेनजी प्रदर्शनकारीका प्रतिनिधिबीच पथलैयास्थित सशस्त्र प्रहरीको प्राविधिक शिक्षालयमा वार्ता सुरु भएको छ। वार्तामा बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल, एसपी सन्तोष तामाङसहित सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा छलफल जारी छ। प्रशासनले प्रदर्शनकारीलाई कलैयास्थित प्रशासन कार्यालयमा बोलाए पनि नआएपछि सुरक्षा समितिका पदाधिकारी पथलैया पुगेका हुन्।
प्रदर्शनकारीतर्फबाट सम्राट उपाध्याय, कपिल खरेललगायतले सहभागी भएर ६ बुँदे माग प्रस्तुत गरेका छन्। उनीहरूले बुधबार र बिहीबारको घटनामा सुरक्षातर्फ कमजोरी देखिएको भन्दै एसपी सन्तोष तामाङ र जिल्ला तथा इलाका प्रहरी कार्यालयका डीएसपीहरूको कारबाही, जेनजी समर्थकहरूको सुरक्षा सुनिश्चितता, आक्रमणमा संलग्न एमाले कार्यकर्ताको फोन रेकर्ड छानबिन, घाइतेका लागि नि:शुल्क उपचार र क्षतिपूर्तिको व्यवस्था, तथा प्रारम्भिक जाहेरीमा नाम नपरेका व्यक्तिमाथि पनि कारबाहीको माग राखेका छन्।
वार्ता जारी रहेको प्रशासनले जनाएको छ।