चार दलीय समाजवादी मोर्चा २८ महिनामै विघटन
काठमाडौं । चार दलीय समाजवादी मोर्चा गठन भएको २८ महिनामै विघटन भएको छ । समाजवादी क्रान्तिको आधार तयार पार्ने, राष्ट्रिय एजेन्डामा साझा धारणा बनाउने र दीर्घकालीन पार्टी एकता गर्ने उद्देश्यले बनेको मोर्चा अब अस्तित्वमा नरहेको घोषणा गरिएको हो ।
मोर्चाका संयोजक तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले बुधबार विज्ञप्ति जारी गर्दै पार्टी मोर्चाबाट अलग भएको घोषणा गरेका छन् । विप्लवले ‘जेनजी विद्रोहपछि’ देशको राजनीतिक परिवेशमा व्यापक परिवर्तन आएर नयाँ प्रकारका एकता र मोर्चाबन्दी सुरु भएकाले पुरानो मोर्चाको औचित्य समाप्त भएको बताएका छन् ।
उनका अनुसार, हाल मोर्चामा रहेका तीन दल — नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेपाल समाजवादी पार्टी — एकीकृत भएर नयाँ *नेपाली कम्युनिस्ट पार्टी* बनेपछि मोर्चाको भूमिका स्वाभाविक रूपमा समाप्त भएको हो ।
समाजवादी मोर्चा २०८० साल असार ४ गते नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (उपेन्द्र यादव समूह) र नेकपा (विप्लव) मिलेर गठन गरिएको थियो । जसपा विभाजनपछि साउन १ गते महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी मोर्चामा प्रवेश गरेको थियो ।
मोर्चाले ५५ जिल्ला र दुई सय पालिकामा संगठन विस्तार गर्दै काठमाडौंमा दुईपटक ठूलो विरोधसभा र सातै प्रदेशमा सन्देशसभा गरेको थियो ।