‘मधेशवादीको नाटक बन्द गर’ : मुख्यमन्त्री सरोजकुमार यादवको आरोप
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले केही राजनीतिक दलले आफूलाई मधेशवादी भएको झूटो नाटक गर्दै जनतालाई भ्रममा पारेको आरोप लगाएका छन्। शनिबार प्रदेशवासीका नाममा सम्बोधन गर्दै उनले जसपा, लोसपाजस्ता दलले नाम मात्रको मधेशवाद बोकेर राजनीति गरिरहेको दाबी गरे।
मधेशवादी भनेर दाबी गर्नु मात्रले कसैलाई मधेशवादी नबनाउने उल्लेख गर्दै मुख्यमन्त्री यादवले वास्तविकता व्यवस्थापन र जनसेवामा प्रमाणित हुनुपर्ने बताए। प्रदेश सरकार गठनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा त्यसलाई लिएर सडक आन्दोलन गर्नु अर्थहीन रहेको उनको तर्क छ। अदालतप्रतिको आस्था कायम राख्दै आन्दोलन रोक्न र संवादमै आउन उनले आन्दोलनरत दलहरूलाई आग्रह गरे।
मुख्यमन्त्री यादवले आफ्नो प्रतिस्पर्धा कुनै दलसँग नभई मधेशको गरिबी न्यूनीकरण, शान्ति–सुरक्षा र समृद्धि सुनिश्चित गर्नेमै केन्द्रित रहेको स्पष्ट पारे। साथै, विपक्षी दलहरूले सञ्चालन गरिरहेको आन्दोलनमा भारतको हस्तक्षेप भएको आरोप लगाउँदै उनले हाल मधेश प्रदेशमा शान्ति–व्यवस्था भंग गर्ने प्रयास चलिरहेको टिप्पणी गरे।
उनका अनुसार प्रदेश सरकार जनताको भरोसा र कानुनी प्रक्रियामार्फत अघि बढेकाले संवैधानिक मार्गमै समस्या समाधान खोजिनु अपरिहार्य छ।