बागमती नदी किनारमा रहेका बेवारिसे सवारी साधन हटाउन सुरु
काठमाडौँ – बागमती नदीको गुह्येश्वरी–गोकर्णेश्वर मन्दिर खण्ड**मा नदी किनारमा अलपत्र छाडिएका सवारी साधन हटाउने काम सुरु भएको छ।
गोकर्णेश्वर नगरपालिका–५, जम्मुडाँडास्थित प्रहरी चौकी नजिक रहेका ती सवारी साधन मंगलबार हटाइएका हुन्।
गत शनिवार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री तथा सहरी विकास मन्त्री **कुलमान घिसिङ**ले बागमती कोरिडोर क्षेत्रको स्थलगत निरीक्षण गर्दै नदीको सफाइ र मुक्त बहाव सुनिश्चित गर्न किनारमा रहेको बेवारिसे सवारी साधन तत्काल हटाउन निर्देशन दिएका थिए।
जम्मुडाँडामा करिब १२० मिटर ढल जाम हुँदा फोहर बागमती नदीमा मिसिन पुगेको र ढल फुटेर सडकसमेत क्षति पुगेको बताइएको छ। अहिले ढल मर्मत कार्य पनि सुरु गरिएको छ।
यस्तै, गुह्येश्वरीदेखि माथिल्लो तटीय क्षेत्रसम्म नदीमा थुप्रिएको बालुवा तथा फोहोर हटाउने तयारी गरिएको छ। यसका लागि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले आवश्यक प्रक्रिया अघि बढाइरहेको छ।