चौधरी : विशेष महाधिवेशनको माग उपेक्षा गरे कांग्रेसलाई क्षति
काठमाडौँ — नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले पार्टीभित्र उठिरहेको विशेष महाधिवेशनको मागलाई बेवास्ता गर्नु पार्टीका लागि घातक हुने बताएका छन्।
सानेपामा जारी केन्द्रीय समितिको बैठकमा शुक्रबार बोल्दै चौधरीले विशेष महाधिवेशन पक्षधर कार्यकर्ताको भावनालाई सम्बोधन नगरे आगामी निर्वाचनमा कांग्रेसले ठूलो क्षति व्यहोर्नु पर्ने चेतावनी दिएका हुन्।
उनका अनुसार अहिले पार्टीभित्र विशेष र नियमित महाधिवेशन दुवै विषयमा गम्भीर बहस भइरहेको छ। “यी दुवै बहसलाई केन्द्रमा राखेर फागुन २१ को निर्वाचनअघि पार्टीको महाधिवेशन सुरु गर्नुपर्छ,” चौधरीले भने, “विशेष महाधिवेशनका हस्ताक्षर अभियानकर्ताको भावनालाई सम्बोधन हुने गरी केन्द्रीय समितिले निकास दिनुपर्छ। उहाँहरूलाई उपेक्षा गरेर जाँदा निर्वाचनमा पार्टीलाई क्षति हुन्छ।”
चौधरीले पार्टीका शीर्ष नेताहरूले राज्य सत्ता सञ्चालनका क्रममा गरेका कमजोरीको आत्मसमिक्षा गर्नुपर्ने आवश्यकता औंल्याए। “भदौ २३ र २४ मा देशले ठूलो जनधनको क्षति बेहोर्नु पर्यो। त्यसमा हामी सबैको जिम्मेवारी छ,” उनले भने।
उनले प्रश्न गरे, “हामीले विगतका गल्ती दोहोर्याउँदैनौं भनेर जनतालाई विश्वास दिलाउने आधार के हो? पुरानै अनुहार र पुरानै शैलीका साथ चुनावमा गयौं भने जनताले कसरी विश्वास गर्छन्?”
चौधरीका अनुसार निर्वाचनअघि महाधिवेशन गर्नाले पार्टीभित्रको असन्तुष्टि सम्बोधन हुने र विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको भावनाको पनि सम्मान हुनेछ।
उनले अन्त्यमा भने, “जनताको आकांक्षा बुझ्नेभन्दा पहिले आफ्ना नेता–कार्यकर्ताको भावना बेवास्ता गर्नु पार्टीको हितमा हुँदैन। कांग्रेसले एकता र विश्वासको सन्देश दिन महाधिवेशनको बाटो रोज्नुपर्छ।”