२४ भदौको आगजनी घृणाको परिणाम भएको एमाले अध्यक्ष ओलीको दाबी
२० कात्तिक, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समाजमा फैलाइएको घृणाले देश असहज अवस्थामा पुगेको दाबी गरेका छन् ।
भक्तपुरको गुन्डुस्थित निवासमा बिहीबार पार्टीका नेता–कार्यकर्तासँगको भेटमा उनले लामो समयदेखि चलाइएको घृणाको अभियानले २४ भदौको आगजनीसम्मको विध्वंश ल्याएको बताए।
उनले भने, “सम्मानजनक ढंगले बोल्ने, अरुलाई आदर गर्ने हाम्रो परम्परा हो। तर, अपशब्द र घृणा फैलाउनेहरूले समाजलाई भताभुंग बनाए, २४ भदौको आगजनी त्यसैको पराकाष्ठा हो।”
ओलीले सामान्य मानिसले आगो लगाउन नसक्ने भन्दै घृणाले मानिसलाई ‘राक्षसमा परिणत’ गरेको अभिव्यक्ति दिए।
पूर्वप्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत अपशब्द प्रयोग गर्नेहरूलाई असभ्य र असंस्कृत भन्दै काठमाडौं महानगरका मेयर बालेन शाहतर्फ पनि इङ्गित गरे।
उनले भने, “नेपालीको बोल्ने भाषा सभ्य हो, आदरयुक्त हो। अहिले त अपशब्द बोल्ने र लेख्ने प्रवृत्ति बढेको छ, जुन हाम्रो संस्कृतिभित्र पर्दैन।”
ओलीले देश अहिले असहज अवस्थामा पुगेको उल्लेख गर्दै सभ्य राजनीतिक संवादको आवश्यकता औंल्याएका छन्।