काठमाडौँ महानगरको चार महिनामा ३.२२ अर्ब राजस्व संकलन, आन्तरिक कर भने घट्यो
चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म काठमाडौँ महानगरपालिकाले तीन अर्ब २२ करोड ४१ लाख २५ हजार १४९ रुपैयाँ राजस्व संकलन गरेको छ। यो संख्या गत वर्ष यही अवधिमा संकलित तीन अर्ब १६ करोड ७६ लाख १४ हजार ६५७ रुपैयाँभन्दा पाँच करोड ६५ लाख १० हजार ४९२ रुपैयाँ बढी हो। राजस्व विभागका प्रमुख दीपक अधिकारीका अनुसार, यस वर्ष महानगरले १५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन हुने प्रक्षेपण गरेको छ।
यद्यपि कुल राजस्व वृद्धि भए पनि आन्तरिक करतर्फ भने संकलन घटेको छ। यस वर्ष आन्तरिक कर शीर्षकमा एक अर्ब ९६ करोड ८१ लाख ७५ हजार ७ सय रुपैयाँ संकलन हुँदा गत वर्ष यसै अवधिमा एक अर्ब ९९ करोड दुई लाख ६७ हजार ६९५ रुपैयाँ संकलन भएको थियो, अर्थात् दुई करोड २० लाख ९१ हजार ९९५ रुपैयाँले कमी आएको छ।
आन्तरिक कर घट्नुको मुख्य कारण सम्पत्ति करमा आएको गिरावट हो। गत वर्ष ५० करोड ३१ लाख तीन हजार ७३८ रुपैयाँ संकलन भएको सम्पत्ति कर यस वर्ष ४२ करोड ७६ लाख ५४ हजार २७६ रुपैयाँमा झरेको छ। महानगरका अनुसार, सहरमा भवन निर्माण कार्य घटेसँगै सम्पत्ति कर र भवन नक्सा स्वीकृति शुल्क दुबैमा कमी आएको हो। भवन नक्सा शुल्क गत वर्ष १२ करोड ६ लाख ६६ हजार ६४९ रुपैयाँ संकलन भएकोमा यस वर्ष ८ करोड ८८ लाख ६ हजार ८८१ रुपैयाँमा सीमित छ।
यता वहाल कर र व्यवसाय कर शीर्षकमा भने वृद्धि भएको छ। वहाल कर गत वर्ष ९४ करोड ८५ लाख २८ हजार १५४ रुपैयाँबाट बढेर यो वर्ष एक अर्ब २ करोड ९२ लाख ९७ हजार ५७० रुपैयाँ पुगेको छ। व्यवसाय कर पनि २२ करोड ८७ लाख ८ हजार ७०८ रुपैयाँबाट बढेर २३ करोड ३२ लाख ३६ हजार १७० रुपैयाँ भएको छ।
कुल राजस्व वृद्धि भए पनि आन्तरिक करमा आएको कमीले महानगरको राजस्व संरचना नयाँ चुनौतीसहित अघि बढिरहेको संकेत गरेको देखिन्छ।