संसद् पुनर्स्थापनाको मागसहित एमालेको देशव्यापी जिल्ला–स्तरीय जनसभा
२९ कात्तिक, धनगढी ।
नेकपा एमालेले आज देशैभर जिल्ला–स्तरीय जनसभाहरू आयोजना गरेको छ। संसद् पुनर्स्थापनाको मागलाई जोड दिन एमालेले वडा र पालिका तहमा सुरु गरेको भेला श्रृंखला आज जिल्लास्तरमा पुगेको हो।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन हिंसात्मक बन्दै गएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए। त्यसपछि २७ भदौमा प्रतिनिधि सभा विघटन गरिँदै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्वका लागि प्रधानमन्त्री नियुक्त गरिएको थियो।
प्रतिनिधि सभा विघटनलाई असंवैधानिक बताउँदै एमाले निरन्तर विरोध गरिरहेको छ। संसद् पुनर्स्थापनाका लागि सडकमा उत्रिएको एमालेले आज विभिन्न जिल्लाहरूमा प्रदर्शन तथा जनसभा सञ्चालन गरेको हो।
एमालेका नेताहरूले जनसभामा सत्तापक्षको कदम लोकतान्त्रिक मान्यताविपरीत रहेको भन्दै संविधान र जनमतको रक्षा गर्न जनतासँग एकजुट हुन आग्रह गरेका छन्।