अफताब आलमको निधनमा कांग्रेसले आइतबार पार्टी कार्यालयहरू बन्द गर्ने
नेपाली कांग्रेसले आइतबार तीनै तहमा रहेका पार्टी कार्यालयहरू बन्द गर्ने निर्णय गरेको छ। शनिबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले आइतबार केन्द्र, प्रदेश र जिल्लास्थित पार्टी कार्यालयहरू बन्द गर्ने निर्णय गरेको हो।
पूर्व केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मोहम्मद आफ्ताब आलमको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै बैठकले शोक प्रस्ताव पारित गरेको र त्यसैका आधारमा कार्यालयहरू बन्द गर्ने निर्णय गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठकले शनिबारदेखि तीन दिनसम्म पार्टीको केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने तथा स्वर्गारोहणको १३ दिनसम्म ती कार्यालयहरूमा शोक पुस्तिका राख्ने निर्णय पनि गरेको उनले बताए।
रौतहटका पूर्व सभापति समेत रहेका कांग्रेसका नेता आलमको गएराति ६३ वर्षको उमेरमा काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो।