शंकर पोखरेलको आरोप: सरकारले देशलाई चुनावतर्फ नभई संकटतर्फ धकेल्दैछ
काठमाडौं, २७ कात्तिक — नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारले देशलाई चुनावतर्फ नभई संकटतर्फ लगिरहेको दाबी गरेका छन्। नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटी बैठकमा पोखरेलले संकट टार्न प्रतिनिधिसभा पुन:स्थापना गरी युवाका माग सम्बोधन गर्नुपर्ने बताएका छन्।
पोखरेलले भने, “संविधानलाई सही बाटोमा ल्याएपछि चुनाव ०८४ मा मात्रै हुनु पर्ने छैन, अर्ली इलेक्सनमा जान सकिन्छ। यसका लागि पहिलो शर्त प्रतिनिधिसभाको पुन:स्थापना हो।” उनले एमालेको हालसालैको वडा र पालिका स्तरीय प्रदर्शनलाई उदाहरण बनाएर जनताले पार्टीको साथ दिइरहेको प्रमाण भएको बताए।
उनले जेन-जी आन्दोलनको नाममा व्यापक घुसपैठ गरेर देशलाई राज्यविहीन बनाउने प्रयास भइरहेको आरोप समेत लगाए। पोखरेलले यस प्रहार केवल नेता केपी ओलीमाथि मात्र नभई सम्पूर्ण नेपाली जनतामाथि भएको प्रहारको रूपमा बुझ्नुपर्ने बताए।