ओलीको चेतावनी : "फेसबुकले अध्यक्ष हटाउने होइन, निर्णय कमिटीले गर्छ
ललितपुर, असोज २९ –नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा भइरहेको आलोचना र दबावको बाबजुद आफू पार्टी नेतृत्वबाट तत्कालै हट्ने कुनै योजना नरहेको स्पष्ट पारेका छन्।
बुधबारदेखि ललितपुरमा सुरु भएको एमालेको दशौं केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टी नेतृत्व परिवर्तनको निर्णय फेसबुक वा सामाजिक सञ्जालले होइन, पार्टीको आधिकारिक निकायले गर्ने बताए।
ओलीले भने, “मैले हट्नुपर्छ भनेर फेसबुकले निर्णय सुनाउने होइन। यो कमिटीले भन्छ भने म छोड्छु। यो आदेश दिने ठाउँ हो, म जुनसुकै आदेश मान्छु।”
उनले केही नेताहरूको बैठक बाहिर गएर सामाजिक सञ्जालमा लोकप्रियतावादी शैलीमा लेख्ने प्रवृत्तिप्रति कडा आपत्ति जनाउँदै त्यस्तो व्यवहारले पार्टीमा भ्रम मात्र फैलाउने बताए।
“यो कमिटीमा बसेर कोही सदस्य बाहिर गएर फेसबुकमा लेख्छन्, लोकप्रियतावादको पछि लाग्छन्,” ओलीले भने, “यदि मलाई अध्यक्षबाट हटाउनु छ भने, यो कमिटीले निर्णय गरोस्। म सहजै स्वीकार्छु, कालो मुख लगाएर जान्न।”
पार्टी कार्यालयमा हालै भएको आगजनीप्रति टिप्पणी गर्दै ओलीले त्यसलाई राजनीतिक आक्रोशको परिणाम बताए। “पार्टी कार्यालय र घरमा आगो लगाउन मन लागेकाले जलाएका हुन्। विरोधीहरूले मन नपराएरै आगो लगाएका हुन्,” उनले भने।
ओलीले आफूले भ्रष्टाचार नगरेको, आचरणमा खोट नरहेको र देशको विकासमा अग्रसर रहेको दाबी गर्दै भने, “काम गर्ने जाँगर छैन भन्ने पनि होइन। पार्टीको निर्णायक निकायले नै निर्णय गर्छ, म त्यसअनुसार अघि बढ्छु। मलाई हटाउने हो भने केन्द्रीय समिति वा महाधिवेशनले गरुन्, सामाजिक सञ्जालले होइन।”