संसद् विघटनको सन्दर्भमा दलहरूको धारणा माग्दै सभामुख घिमिरे
प्रतिनिधिसभा विघटनको विषयमा सभामुख देवराज घिमिरेले राजनीतिक दलहरूको राय माग गरेका छन्। राजनीतिक दलका नेता, कानुन व्यवसायी र विज्ञहरूसँग अनौपचारिक छलफलमा रहेका सभामुख घिमिरेले अब औपचारिक रूपमा दलहरूको धारणा मागेका हुन्।
यसका लागि उनले विघटित प्रतिनिधिसभामा रहेका राजनीतिक दलका प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका छन्।
विघटित प्रतिनिधिसभामा रहेका प्रमुख दलहरूमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टी रहेका थिए।
यी दलका प्रमुख सचेतकहरूलाई सभामुख घिमिरेले बुधबार बिहान ९ बजे सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा छलफलका लागि बोलाएका हुन्।
सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार, "संसद् पुनर्स्थापनाको माग लिएर सभामुख स्वयं अदालत जानुपर्छ कि जानु हुँदैन भन्ने विषयमा दलहरूको धारणा लिन लागिएको" हो।
छलफलमा सहभागी हुन आउँदा दलहरूलाई पार्टीको आधिकारिक धारणा स्पष्ट रूपमा प्रस्तुत गर्न आग्रह गरिएको छ।
दलहरूको धारणा संकलन गरेपछि सभामुखले पूर्वमहान्यायाधिवक्ता, नेपाल बार र सर्वोच्च बारका पदाधिकारीहरूसँग छुट्टाछुट्टै छलफल गर्ने तयारी गरेका छन्।
प्रतिनिधिसभा विघटनविरुद्ध अदालतमा जाने विषयमा सरोकारवालाहरूबाट सभामुखलाई दुवै प्रकारका सुझाव प्राप्त भइरहेका छन्। अब राजनीतिक दलहरू, कानुनी निकाय र विज्ञहरूको धारणा प्राप्त गरेपछि मात्र सभामुख देवराज घिमिरेले आफ्नो निर्णय लिने तयारी गरेका छन्।