उद्योगीमाथि भएको कुटपिटबारे छानबिन गर्न प्रहरीलाई मुख्यमन्त्रीको निर्देशन
मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले हिजो राति जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीमाथि भएको कुटपिट बारे छानबिन गरी दोषीमाथि कारबाही गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।
प्रहरीको कुटाइबाट घाइते भएका सुरेन्द्र भण्डारीलाई आज अस्पतालमा गएर भेटेपछि मुख्यमन्त्री सोनलले मधेस प्रदेशका प्रहरी प्रमुखलाई फोन गरेर घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएका हुन् ।
हिजो राति प्रहरी र स्थानीय सुनचाँदी व्यवसायीहरूबिच झडप भएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाबाट गएको प्रहरीले जिल्लाको सोनारपट्टीस्थित सुनचाँदी पसलमा छापा मार्न जाँदा विवाद उत्पन्न भएको थियो ।
त्यहाँ प्रहरी र सुन व्यवसायीबिच झडप हुँदा उद्योग वाणिज्य सङ्घका अध्यक्ष भण्डारी घाइते भएका थिए । व्यापारीहरुले यसरी दीपावलीको समयमा राति राति आएर छापा मारेर दुःख दिने काम नगर्न भन्दै प्रहरीलाई प्रतिकार गरेपछि विवाद उत्पन्न भएको थियो ।