कांग्रेस बैठक जारी, देउवाको कुर्सी खाली, नेतृत्व हस्तान्तरणको प्रतीक?
काठमाडौं — नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि जारी छ। बैठकमा केन्द्रीय सदस्यहरूले विभिन्न एजेन्डामा धारणा राख्ने क्रम सुरु भएको छ।
सभापति शेरबहादुर देउवाले गत असोज २८ गते कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएका थिए। यद्यपि, बैठकमा देउवाको कुर्सी यथावत् राखिएको छ।
बैठकमा खड्काले देउवाको कुर्सी खाली राख्दै कार्यवाही अघि बढाएका छन्। कांग्रेसका एक केन्द्रीय सदस्यका अनुसार यो कदमको राजनीतिक सन्देश पनि रहेको छ। उनका अनुसार देउवा भौतिक रूपमा अनुपस्थित भए पनि उनी पार्टी राजनीतिमा अझै सक्रिय रहेको सन्देश दिन कुर्सी खाली राखिएको हो।
‘यो सम्मानको पनि कुरा हो, र कार्यवाहक दिएको मात्रै हो, राजनीति छाडेको होइन भन्ने संकेत हो,’ ती सदस्यले बताएका छन्।
बैठकमा जेनजी आन्दोलन, १५औं महाधिवेशनको तयारी, संसद् विघटन, घोषणा गरिएको निर्वाचन लगायतका ८ बुँदे एजेन्डामा छलफल भइरहेको छ।