देश प्रतिक्रान्तितर्फ धकेलिँदै छ: एमाले अध्यक्ष ओली
काठमाडौँ, २९ असोज — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली ले देश प्रतिक्रान्तितर्फ धकेलिएको दाबी गरेका छन्। बुधबार ललितपुरको रामबाग महलमा बसेको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले लोकतान्त्रिक मूल्य र विकासको दिशाबाट देश च्युत भइरहेको चेतावनी दिए।
"यदि हामीले प्रभावकारी रोक्न सकेनौँ भने देश बर्बादीतर्फ जान्छ," अध्यक्ष ओलीले भने, "अब यो अवस्थालाई लोकतान्त्रिक, जनपक्षीय, शान्तिपूर्ण र विकासोन्मुख बाटोमा फर्काउन आवश्यक छ।"
उनले हालको जेन–जी आन्दोलनका सन्दर्भमा एमालेलाई मुख्य प्रहारको निशाना बनाइएको आरोप पनि लगाए। "हामीलाई किन निशाना बनाइयो?" ओलीले प्रश्न गर्दै भने, "के हामीले नराम्रा नीति लिएका छौँ? होइन, हाम्रो नीति राम्रै भएकाले हामी आक्रमणको केन्द्रमा परेका हौँ।"
अध्यक्ष ओलीले एमाले स्थापना कालदेखि नै नेपाली कम्युनिस्ट आन्दोलनको मूलधारमा रहेको जिकिर गर्दै, पार्टीले लिएको दिशा र नीतिहरू लोकतान्त्रिक र देश विकासमुखी रहेको बताए।
एमालेको केन्द्रीय कमिटी बैठकमा हालको राजनीतिक परिस्थितिबारे गहन छलफल भइरहेको छ भने पार्टीले आगामी रणनीति तय गर्ने तयारीमा रहेको छ।