जनमत पार्टीले जितेन्द्र सोनललाई दिएको समर्थन आधिकारिक भएको दाबी
काठमाडौँ, असोज २९ –मधेस प्रदेशमा सरकार गठनका लागि चलिरहेको राजनीतिक रस्साकस्सीबीच जनमत पार्टीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जितेन्द्र प्रसाद सोनललाई दिएको समर्थन आधिकारिक रहेको स्पष्ट पारेको छ।
जनमत पार्टी मधेस प्रदेश संसदीय दलका नेता महेश यादवले बुधबार प्रदेश प्रमुखलाई पत्र पठाउँदै, पार्टीको तर्फबाट सोनललाई मुख्यमन्त्री बनाउन गरिएको समर्थन आधिकारिक र मान्य हुने बताएका छन्।
यसअघि कांग्रेस, एमाले र जनमत पार्टीको तीन दलबीचको सहमतिअनुसार कांग्रेस नेता कृष्णा कुमार यादवको नेतृत्वमा सरकार गठनका लागि दाबी गरिएको थियो। सो दाबीमा जनमत पार्टीका १३ सांसदहरूको हस्ताक्षर समेत संलग्न थियो। तर, त्यतिबेला मुख्यमन्त्री सतिश कुमार सिंहले राजीनामा नदिएको र प्रदेश प्रमुखले आह्वान नगरेका कारण त्यस दाबीलाई वैधानिक नठानिएको थियो।
पछिल्लो अवस्थामा सिंहको राजीनामापछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेपछि लोसपा, जसपा, माओवादी केन्द्र, नेकपा (एस) र जनमत पार्टीले संयुक्त रूपमा जितेन्द्र सोनलको नेतृत्वमा सरकार बनाउन ५६ सांसदको समर्थनसहित दाबी पेश गरेका छन्।
तर कांग्रेसले असोज २२ गते बुझाइएको समर्थनलाई आधिकारिक भन्दै पुनः दाबी गरेपछि जनमत पार्टीले त्यसमा असहमति जनाउँदै, अहिलेको समर्थन पत्र मात्रै मान्य हुने स्पष्ट पारेको हो।
संसदीय दलका नेता महेश यादवले रातोपाटीसँग कुरा गर्दै भने, जनमत पार्टीको आधिकारिक समर्थन लोसपाका नेता जितेन्द्र सोनललाई हो, कांग्रेसको दाबी झुटो हो। अहिले पठाइएको पत्र नै कानुनी रूपमा मान्य छ।
यससँगै मधेस प्रदेशमा सत्ता समीकरण थप पेचिलो बन्दै गएको छ, जसको अन्तिम निर्णय अब प्रदेश प्रमुखको कदममा निर्भर हुने देखिएको छ।