जेनजी आन्दोलनका अगुवा मिराज ढुंगाना गरे दल खोल्ने घोषणा
जेनजी आन्दोलनका अगुवा मिराज ढुंगानाले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन्। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले आफूहरू अब राजनीतिक दल खोलेर अघि बढ्न लागेको जानकारी दिए।
ढुंगानाले भने, "हामी चुनावमा जान भनेर पार्टी खोल्न लागेका होइनौं। भिडले देश विकास हुँदैन, या त एनजिओ खोल्नुपर्छ, या त पार्टी नै खोल्नुको विकल्प छैन। हामीले यो आन्दोलन छाडेर जान मिल्दैन।"
उनले जेनजीहरूलाई एक ठाउँमा आउन आह्वान गरे। यद्यपि पार्टी खोले पनि आफ्नो ‘बटमलाइन’ पूरा नभएसम्म चुनावमा नजाने स्पष्ट पारे।
ढुंगानाको भनाइमा, "प्रत्यक्ष निर्वाचित कार्यकारी नै हाम्रो बटमलाइन हो। त्यो मुद्दा सुन्नैपर्छ। हामी चुनावमा जान होइन, संगठित भएर अघि बढ्नका लागि पार्टी खोल्न लागेका हौं।"
साथै, उनले विदेशमा रहेका नेपालीहरूले भोट हाल्न पाउनुपर्ने, र भ्रष्टाचार अन्त्य गर्न नागरिकस्तरको छानबिन समिति गठन गर्नुपर्ने मागसमेत अघि सारे।