प्रधानमन्त्री कार्कीद्वारा दलहरूलाई वार्तामा बोलावट
२ कात्तिक, काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूलाई आगामी निर्वाचनबारे छलफल गर्न वार्तामा सहभागी हुन आह्वान गरेकी छिन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार आगामी ४ कात्तिक, मंगलबार छलफलको मिति तय गरिएको छ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, निर्वाचनबारे दलहरूको धारणा बुझ्न र आवश्यक सहमति निर्माणका लागि प्रधानमन्त्रीले पहलस्वरूप यो छलफल आयोजना गर्न लागेकी हुन्। निर्वाचन आयोगले आगामी २१ फागुन का लागि घोषणा गरेको निर्वाचनलाई प्रभावकारी बनाउने सन्दर्भमा दलहरूसँग प्रत्यक्ष संवादको आवश्यकता महसुस गरिएको स्रोतको भनाइ छ।
स्रोतका अनुसार, प्रत्येक दलबाट दुई-दुई प्रतिनिधिलाई छलफलमा सहभागी गराइनेछ।
यसअघि राजनीतिक दलहरूले सरकारको तर्फबाट संवाद र समन्वयको अभाव भएको भन्दै आलोचना गर्दै आएका थिए। यद्यपि, राष्ट्रपति रामचन्द्र पौडेलले हालै शीतलनिवासमा आयोजना गरेको अन्तरक्रियामा दलहरू सहभागी भए पनि, उनीहरूले उक्त कार्यक्रमलाई सरकारको आधिकारिक पहल मान्न अस्वीकार गरेका थिए।
प्रधानमन्त्री कार्की सो अन्तरक्रियामा सहभागी भए पनि राजनीतिक सहमति निर्माणको जिम्मा सरकारले लिनुपर्ने भन्दै चर्को दबाब आइरहेका बेला यो वार्ता पहल भएको हो।