जेनजी आन्दोलनपछि पहिलोपटक एमाले अध्यक्ष ओली च्यासल पार्टी कार्यालयमा
काठमाडौं —नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय पुगेका छन्। गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछिको यो उनको पहिलो च्यासल भ्रमण हो।
२४ भदौमा भएको आन्दोलनका क्रममा च्यासलस्थित एमाले कार्यालयमा तोडफोड र आगजनी भएको थियो। त्यसयता एमालेको सबै बैठकहरू अध्यक्ष ओलीको गुण्डुस्थित निवासमै सञ्चालन हुँदै आएका थिए।
ललितपुरको एक होटलमा हालै सम्पन्न केन्द्रीय कमिटी बैठकको भोलिपल्ट आज एमालेले च्यासलमै चियापान कार्यक्रम आयोजना गरेको हो। सोही कार्यक्रमका लागि अध्यक्ष ओली च्यासल पुगेका हुन्।
हाल च्यासल पार्टी कार्यालय परिसरमा चियापान कार्यक्रम चलिरहेको छ। कार्यक्रममा एमालेका शीर्ष नेताहरू, सांसद, कार्यकर्ता तथा विभिन्न अतिथिहरूको सहभागिता रहेको छ।
एमाले नेताहरूले यस कार्यक्रमलाई "संगठनात्मक एकता र आत्मबल पुनःस्थापनाको अवसर" का रूपमा लिएका छन्। पार्टी कार्यालयमा भएको क्षति पुनर्निर्माण प्रक्रिया अघि बढ्दै गर्दा, अध्यक्ष ओलीको च्यासल आगमनले नयाँ सन्देश दिएको एमाले स्रोतको भनाइ छ।