मधेस प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनलको दाबी, पाँच दलको समर्थन
२९ असोज — मधेस प्रदेशमा सरकार गठनको नयाँ प्रयासस्वरूप लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उपाध्यक्ष जितेन्द्र प्रसाद सोनलले मुख्यमन्त्रीको दाबी पेस गरेका छन्।
सोनलले आइतबार प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष नेकपा (माओवादी केन्द्र), जनमत पार्टी, जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी)को समर्थनमा सरकार गठनको दाबी प्रस्तुत गरेका हुन्।
यो गठबन्धनले प्रमुख विपक्षी दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले)लाई सरकारबाहिर राख्दै वैकल्पिक सत्ता समीकरण तयार गर्ने प्रयास गरेको हो। १०७ सदस्यीय मधेस प्रदेशसभामा हाल १०५ जना प्रदेशसभा सदस्य छन्।
सोनलको पक्षमा पाँच दलका गरी ५६ सांसदको समर्थन रहेको जनाइएको छ। प्रदेशसभामा दलगत प्रतिनिधित्व निम्नानुसार छ:
नेकपा एमाले– २५ (एक निलम्बितसहित)
नेपाली कांग्रेस – २२
जनता समाजवादी पार्टी (जसपा) – १९
जनमत पार्टी – १३
नेकपा (माओवादी केन्द्र) – ९
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) – ९ (एक निलम्बितसहित)
नेकपा (एकीकृत समाजवादी) – ७
राप्रपा, नागरिक उन्मुक्ति पार्टी र सङ्घीय समाजवादी पार्टी – १–१ जना
नयाँ गठबन्धनमा लोसपा, माओवादी केन्द्र, जनमत, जसपा र एकीकृत समाजवादी पार्टी छन्, जसको कूल संख्या ५६ पुग्छ।
प्रदेश प्रमुख मिश्रले संविधानको धारा १६८(२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेपछि सोनलले दाबी पेस गरेका हुन्। अब प्रदेश प्रमुखले दाबीको अध्ययन गरी सरकार गठनका लागि निर्णय लिने छन्।