स्थापनाको एक महिनामै ‘लम्जुङ सेवा शक्ति’द्वारा भ्रष्टाचारविरुद्ध जनजागरण अभियान सुरु
‘लम्जुङको विकासमा युवा नेतृत्व’ भन्ने मूल नारासहित सुरु गरिएको यो स्वतन्त्र नागरिक अभियान कात्तिक २ गतेसम्म चल्नेछ। अभियान अन्तर्गत जिल्लाका आठवटै पालिका केन्द्रहरूमा युवाहरूको टोलीले नागरिक सचेतनाका सन्देशसहित साना भेला र छलफल कार्यक्रमहरू आयोजना गरिरहेका छन्।
हरि पौडेलको संयोजनमा सञ्चालन भइरहेको अभियानको पहिलो दिन सुन्दरबजार नगरपालिका, राइनास नगरपालिका, दोर्दी गाउँपालिका र दुधपोखरी गाउँपालिकामा कार्यक्रम सम्पन्न भइसकेको छ। बाँकी चार पालिकामा कात्तिक २ गते कार्यक्रम हुने लम्जुङ सेवा शक्तिले जनाएको छ।
बिदेशमा श्रम गर्दै आएका अनसुल लोहनी र दीपक थापाको पहलमा स्थापित लम्जुङ सेवा शक्तिले भ्रष्टाचार अन्त्य र स्थानीय तहमा प्रभावकारी सेवा प्रवाहका लागि सक्षम र निडर नेतृत्वको खाँचो औंल्याएको छ।
संस्थाले दलगत राजनीति र स्वार्थले लम्जुङको विकास अवरुद्ध भएको आरोप लगाउँदै नागरिकहरूलाई स्वतन्त्र, सक्रिय र जिम्मेवार बन्न आह्वान गरेको छ।
जनजागरणमा सहभागी स्वतन्त्र युवाहरूले दलको होइन, व्यक्तिको क्षमताको मूल्यांकन गर्न नागरिकहरूलाई आग्रह गरेका छन्। उनीहरूले भनेका छन्, “अब नागरिकले दल होइन, सक्षम व्यक्ति रोज्नुपर्छ। सक्षम नेतृत्व आए मात्र वडादेखि संसदसम्मको भ्रष्टाचार शून्यमा झार्न सकिन्छ।”
लम्जुङ सेवा शक्तिले आगामी निर्वाचनसम्म नागरिकलाई सशक्तिकरण गर्दै अगुवापन गर्न सक्ने स्वतन्त्र नेतृत्वको खोजी गर्ने बताएको छ। साथै, जिल्लाको समग्र विकासका लागि निरन्तर अभियान सञ्चालन गरिने प्रतिबद्धता संस्थाले जनाएको छ।
