दलका नेतासँगको संवादअघि जेन–जी घाइतेसँग प्रधानमन्त्रीको चार घण्टा लामो छलफल बालुवाटारमा
प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलका घाइतेहरूसँग बालुवाटारमा चार घण्टाभन्दा बढी समय छलफल गरेकी छन् । आज बिहान साढे १० बजे सुरु भएको छलफल केहीबेरअघि सकिएको छ ।
घाइतेहरूले सरकारलाई भ्रष्टाचारी र दमनकारीविरुद्ध कठोर ढंगले प्रस्तुत हुन सुझाव दिएका छन् । भ्रष्टाचारीमाथि कारबाही नभए सडकमा उत्रिएर अर्को आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् । घाइते रुपिन खड्काको नेतृत्वमा आएको १८ जनाको समूहले क्रान्तिबाट आएको सरकारले क्रान्तिकारी कदम चाल्नुपर्ने बतायो ।
घाइतेहरूका तर्फबाट खड्काले भने, ‘जसका विरुद्ध हामीले आन्दोलन गरेका थियौँ, तिनीहरूलाई तत्काल पक्राउ गर्न केले छेकेको छ ? नियमले छेक्यो कि कानुन र संविधानले छेक्यो कि ? जहाँ बाधा छ, त्यहीँबाट फुकाउनु सुरु गरौँ ।’
गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रष्टाचार र आन्दोलनमा भएको दमनबारे छानबिनमा भएको प्रगतिबारे अवगत गराए । 'तपाईं चुनाव चुनाव मात्र भनिरहनुभएको छ । के २०८४ को चुनाव ०८२ मा सार्न मात्र यो सरकार आएको हो ?’ घाइते प्रतिनिधिहरूको भनाइ थियो ।