कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आजदेखि सुरु
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि सुरु हुने भएको छ । केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउसो १ बजेबाट बैठक सुरु हुनेछ ।
बैठकमा पेस गर्ने एजेन्डामा भने अझै सहमति जुटेको छैन । त्यसका लागि आजै बिहान ११ बजे पार्टी कार्यालय सानेपामा कार्यसम्पादन समितिको बैठक बस्ने बताइएको छ ।
शीर्ष नेताहरूबिच लगातार छलफल हुँदै आए पनि केन्द्रीय समिति बैठकमा पेस गर्ने एजेन्डाका विषयमा सहमति जुट्न सकिरहेको छैन । एजेन्डामै सहमति नजुटेको कारण यसअघि आइतबारदेखि बस्ने भनिएको केन्द्रीय समिति बैठक आजको लागि सारिएको थियो ।
नियमित महाधिवेशन मङ्सिरभित्रै हुनुपर्ने र हुन नसक्ने फरक फरक धारणाका कारण कुरा मिल्न नसकेको नेताहरूले बताइरहेका छन् ।