नेपाली सेनाको प्रस्टिकरण : "राजनीति गर्दैनौं, शान्ति सुरक्षामा मात्रै केन्द्रित छौं
काठमाडौं, असोज ३० — नेपाली सेनाले जेनजी आन्दोलनपछिको परिस्थितिमा गरिएको भूमिकाबारे स्पष्ट गर्दै आफूहरू राजनीति नगर्ने संस्थागत नीति अनुरूप मात्रै काम गरेको जनाएको छ।
शुक्रबार काठमाडौंमा नेपाली सेनाले आयोजना गरेको पत्रकार सम्मेलनमा एकजना उच्च सैनिक अधिकारीले आन्दोलनपछिको अवस्था, सेनाको भूमिका र नियतबारे उठेका प्रश्नहरूलाई सम्बोधन गर्दै सेनाको भूमिका शान्ति र सुरक्षामा मात्रै सीमित रहेको दाबी गरे।
"सेनाले राजनीति गर्दैन," ती अधिकारीले भने, "जेनजी आन्दोलनसँगको वार्ताको प्रसङ्ग आउँदा यो कुरा स्पष्ट छ — तत्कालीन परिस्थितिमा अमनचयन र शान्ति सुरक्षाको स्थितिलाई वस्तुगत ढंगले मूल्यांकन गरेर आवश्यक पहल मात्रै लिएको हो।"
उनका अनुसार आन्दोलनपछिको परिणामहरूले नै सेनाको नियत स्पष्ट पारेको छ। "कस्तो नियत थियो भन्ने कुरा त परिणामबाटै आकलन गर्न सकिन्छ," उनले बताए।
"एकातिर स्थिति सामान्य पार्न गरिएको बहुआयामिक प्रयास, अर्कोतिर आन्दोलनलाई सहयोग गरिएको भन्ने तर्क — यी दुईलाई छुट्टाएर मूल्यांकन गर्न जरुरी छ," उनले थपे।
जेनजी आन्दोलनको सन्दर्भमा मेडागास्करलगायतका अन्य मुलुकहरूमा सेनाले सत्ता हत्याएको उदाहरण दिँदै उनले भने, "भदौ २४ को राति नेपाली सेनाले स्थिति साम्य पार्न गरेको प्रयास नगरेको भए, वा अन्य मोडेलहरूअनुसार कुरा अगाडि बढेको भए के स्थिति बन्थ्यो भनेर सोच्नुपर्ने समय हो।"
उनले यस्तो कदम चाल्नु नेपाली सेनाको धारणा अनुसार शान्तिपूर्ण निकास र अराजक अवस्था न्यूनीकरणको निम्ति आवश्यक रहेको बताए। उनका अनुसार आन्दोलनमा सहभागी व्यक्तिहरू विविध समूह र पृष्ठभूमिका थिए, जसमा कतिपय तीन वर्षअघिदेखि नै सक्रिय थिए।
"तीन वर्षअघिदेखि आन्दोलनरत समूहहरू तत्कालीन अवस्थामा राजनीतिक दलहरूसँग छलफलमा उत्रिने अवस्थामा थिएनन्," उनले भने, **"त्यसकारण परिस्थितिलाई छलफलको टेबलमा ल्याई थप जोखिम कम गर्नु नै उत्तम विकल्प हो भन्ने सेनाको निष्कर्ष थियो।"
नेपाली सेनाले सबै पक्षसँग संवाद गरेर मात्रै अराजकता न्यूनीकरण र शान्ति स्थापना गर्न खोजेको दाबी गर्दै उक्त अधिकारीले यस्ता विषयहरूलाई राजनीतिक दृष्टिकोणबाट भन्दा पनि वस्तुगत मूल्यांकन गर्न सबैलाई आग्रह गरे।