दार्मा–६ मा वडा अध्यक्षकी छोरीसहित १८ सदस्यीय Gen-Z वडा कमिटी गठन
दार्मा (सल्यान), २०८२ कात्तिक १, सल्यानको दार्मा गाउँपालिका-६ गोठिवनमा शुक्रबार सम्पन्न भेलाले नयाँ १८ सदस्यीय Gen-Z वडा कमिटी गठन गरेको छ ।
भेलाको अध्यक्षता दार्मा गाउँपालिकाका प्रवक्ता श्री रविन कुमार बुढाथोकीले गर्नुभएको थियो। कार्यक्रममा युवाको नेतृत्व, पारदर्शिता, सुशासन र स्थानीय विकासका विषयमा व्यापक छलफल भएको थियो।
भेलामा विभिन्न महत्वपूर्ण प्रस्तावहरूमा छलफल गरिएको थियो। भूकम्प पुनःनिर्माणको रकम हकदार नागरिकलाई मंसिर २८ गतेभित्र भुक्तानी गर्नुपर्ने, पूर्ण विद्युतिकरणका समस्याहरू समाधान गर्न Gen-Z टोलीसँग समन्वय गर्नुपर्ने, गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूको सम्पत्ति विवरण फागुन १० गतेभित्र सार्वजनिक गरिनुपर्ने, र दार्मा गाउँपालिका सबै वडामा Gen-Z वडा कमिटी गठन गरी युवाको सक्रिय सहभागिता सुनिश्चित गर्ने विषयहरू छलफल भएको थियो ।
छलफलपछि भेलाले बडाचौरका वसन्त बुढाथोकीको संयोजनमा १८ सदस्यीय Gen-Z वडा कमिटी गठन गरेको छ। समितिमा वडा अध्यक्षकी छोरी बिमला केसी सहित स्थानीय विभिन्न टोलका युवाहरूको सहभागिता रहेको छ। Gen-Z टोलीले आगामी दिनमा दार्मा–६ लाई पारदर्शी, उत्तरदायी र युवामैत्री वडा बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
सल्यान जिल्ला Gen-Z संयोजक युबराज खड्काको मार्गनिर्देशनमा यो अभियान अघि बढाइएको हो। कार्यक्रममा स्थानीय युवाहरू, सामाजिक अभियन्ता र सचेत नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको अन्त्यमा सहभागीहरूले एकमत भएर “युवाको नेतृत्वमा पारदर्शी वडा, सुशासनयुक्त दार्मा” भन्ने नारा दिए।