गिरीबन्धुको टी-स्टेट प्रकरणको फाइल खोल्ने तयारी छ: रास्वपा सांसद झा
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद मनिष झाले झापास्थित गिरीबन्धुको टी-स्टेट प्रकरणको फाइल खोल्ने तयारी भइरहेको बतउनुभएको छ ।
आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्ने क्रममा उहाँले रास्वपा सरकारमा गएपछि कैलालीको टीकापुर जग्गा र बाँसबारीस्थित छालाजुत्ता उद्योगको जग्गा प्रकरणको छानबिन गरेको दावी गर्नुभएको हो । भुटानी शरणार्थी प्रकरणको पुनः छानबिन गर्ने बताउँदै सांसद झाले गिरीबन्धुको पनि फाइल खोल्ने तयारी भइरहेको दावी गर्नुभएको छ ।
सहकारी प्रकरणमा सशर्त छानबिन समिति बनाउन आफूहरूले तयार भएपछि सोही आधारमा अहिले संसदीय छानबिन समिति बनेको धारणा राखेको उहाँले बताउनुभयो। आफूहरू प्रशस्तै विकल्प छाडेर देशका लागि केही गर्न राजनीतिमा होमिएको उहाँले दावी गर्नुभएको छ ।
सांसद झाले संसदमा बोल्ने क्रममा केही नेताहरूले परिवर्तनको क्रेडिट लिन खोजेको भन्दै राजनीतिमा सबै परिवर्तनको क्रेडिट लिने कुरा उचित नभएको बताउनुभयो । लामो समय संसद अवरुद्ध हुँदा जनताका समस्या उठान गर्न नपाइएको उल्लेख गर्दै सांसद झाले संसद खुलेपछि निरन्तर जनताको पक्षमा आवाज उठाइरहने पनि बताउनुभयो ।