पाकिस्तानले स्वदेशी पेट्रोलियम पदार्थको उत्पादनलाई बढाउने
एजेन्सी । पाकिस्तानका पेट्रोलियम मामिला मन्त्री मुसादिक मसूद मलिकले पाकिस्तानले आयात बिल घटाउन स्वदेशी पेट्रोलियम पदार्थको उत्पादन बढाउने बताएका छन् ।
हाल पाकिस्तानले ऊर्जा आयातमा वार्षिक १८ अर्ब अमेरिकी डलर भन्दा बढी खर्च गर्ने गरेको हो । मन्त्री मलिकले ऊर्जा सम्मेलनलाई सम्बोधन गर्दै पाकिस्तानले पछिल्लो समयमा देशभित्र तेल तथा ग्याँस अन्वेषणलाई गति दिइरहेको बताएका छन् ।
देशले अन्वेषणमा विश्वका प्रसिद्ध अन्वेषकहरूलाई आकर्षित गर्ने सक्रिय प्रयास गरिरहेको प्रकाश पार्दै मलिकले पाकिस्तान व्यापारका लागि खुला रहेको र पारदर्शीता बढाउन नियामक प्रक्रियालाई पूर्ण रूपमा आधुनिकीकरण गर्न प्रतिबद्ध रहेको उल्लेख गरेका थिए ।
लगानी प्रक्रिया, तेल, ग्याँस अन्वेषण सम्बन्धी जानकारीलाई डिजिटल र सरलीकृत गरिएको र सोही क्षेत्रमा लगानी गर्न विदेशी कम्पनीहरूलाई स्वागत गर्दै आएको उनले उल्लेख गरेका हुन् । देशमा ऊर्जाको बढ्दो मूल्यको बारेमा कुरा गर्दै उनले पेट्रोलियम पदार्थको उत्पादन सर्वोच्च प्राथमिकता रहेकाले निर्बाध र किफायती ऊर्जा आपूर्ति सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
बिजुलीको शुल्क घटाउने विभिन्न प्रस्तावहरू कार्यान्वयन भइरहेको र कुशल पावर प्लान्टहरूमा स्थानीय ग्याँस आपूर्ति गरेर बिजुलीको लागत कम गर्न सकिने उनले बताएका हुन्। उनका अनुसार टेक्नोलोजी प्रयोग गरेर ग्याँस नेटवर्कको व्यापक निगरानीसहित आधुनिक प्रणालीहरू सहरी ग्याँसको नोक्सानसँग लड्न प्रयोग भइरहेको छ ।
पाकिस्तानको प्रचुर मात्रामा नवीकरणीय ऊर्जा स्रोतहरूको उपयोग बढाउन आह्वान गर्दै मन्त्री मलिकले देशको सौर्य ऊर्जा लागतमा उल्लेखनीय कमी आएको बताएका हुन्।