एमालेले पठायो इलाम–२ को उपचुनावका लागि केन्द्रमा ६ आकांक्षीका नाम
दृष्टि सञ्चार संवाददाता । इलाम-२ को रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि नेकपा एमालेबाट ६ जना आकांक्षीको नाम सिफारिस गरिएको छ । इलाम जिल्ला कमिटीले उम्मेदवारको दाबेदारहरूको नाम केन्द्रमा पठाएको हो ।
वैशाख १५ गते हुने उपचुनावका लागि उम्मेदवार छनौट गर्न जिल्ला कमिटीका उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा कमिटी बनाइएको थियो ।
केन्द्रमा सिफारिस गरिएका नामको सूचीमा सुहाङ नेम्वाङ, रवीन्द्र सुवेदी, नरेन्द्र भट्टराई, देवी क्षेत्री दुलाल, बुद्धि खनाल र रिप्पल राई छन् । उम्मेदवारको अन्तिम टुंगो पार्टी केन्द्रले गर्नेछ ।
एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधनपछि यो क्षेत्र रिक्त छ । निर्वाचन आयोगले चैत २४ मा मनोनयनको मिति तोकेको छ ।