मधेशमा अब निर्णायक आन्दोलन हुन्छ : अध्यक्ष ठाकुर
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले मधेशमा अब निर्णायक आन्दोलन हुने बताएका छन् । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले वीरगन्जमा निकालेको ‘स्वभिमान यात्रा’ -याली पश्चात आयोजित स्वाभिमान सभालाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले मधेशीमाथि शासकहरुले अहिलेपनि गरि रहेको विभेदलाई अन्त्य गर्न अब मधेशमा निर्णायक आन्दोलन हुने बताए ।
उनले मधेशीहरुको हक अधिकारको लागि शान्तिपूर्ण आन्दोलन गर्दै आएको मधेशीहरुमाथि शासकहरुले बदलाको भावनाले मुद्दा चलाएको आरोप लगाउँदै मधेसीमाथि शासकले अहिले पनि सामाजिक, कानुनी र आर्थिक विभेद् गरिरहेका कारण मधेस आन्दोलन र विद्रोह अहिले पनि जारी रहेको बताए । मधेसको मुद्दा सम्बोधन नभएसम्म मधेस विद्रोह र आन्दोलन निरन्तर चलिरहने भन्दै अध्यक्ष ठाकुरले मधेस २२ जिल्लाको भए पनि शासकले मधेसलाई आठ जिल्लामा सीमित पारेर मधेसमै मधेसीलाई अल्पमत पार्न खोजेको बताए ।लोसपाले स्वाभिमान सभाअघि ‘स्वाभिमान यात्रा’ -याली समेत निकालेको थियो । वीरगन्ज स्थित चिनीमिल आवास क्षेत्रबाट निकालिएको -याली नगर परिक्रमा गर्दै नगरसभागृह (टाउनहल) मा पुगेर स्वाभिमान सभामा परिणत भएको थियो ।