युक्रेनबाट नेपालीहरुलाई उद्धार गर्न सफल भएका छौं : राजदूत खड्का
युक्रेनमा संकट गहिरिएसँगै त्यहाँ रहेका नेपालीहरु पोल्याण्ड स्लोभाकिया, हंगेरी र रोमानिया प्रवेश गर्ने क्रम बढेको छ । जर्मनीको वर्लिनस्थित नेपाली दूतावासका अनुसार सोमबार दिउँसोसम्म १ सय ८५ जना नेपालीहरुले युक्रेन छाडेका छन् ।
दूतावासले हालसम्म युक्रेनमा रहेका २ सय ५८ जना नेपालीहरु सम्पर्कमा आएको जनाएको छ । नेपाल सरकारले बोर्डरसम्म आउन सुझाव दिएको भए पनि त्यहाँ आइपुग्न निकै जटिल रहेको केही नेपालीहरुले गुनासो गर्दै आएका छन् ।
तर जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले स्थानीय स्तरमा जारी सूचनालाई आधार बनाएर यात्रा गर्न सुझाव दिएका छन् । ‘युक्रेनको राजधानी किएभ र खार्किभमा स्थानीय स्तरमा लगाइएको कर्फ्युको कारणले ठ्याकै आफैंले चाहेको बेला निस्कन कठिन देखिएको हो,’ राजदूत खड्काले अनलाइनखवरलाई भने, ‘सुरक्षाको दृष्टिकोणबाट एड्भाइजरी अनुसार नै ट्रेनहरु प्रयोग गर्नुपर्छ ।’
उनले दूतावासबाट हालसम्म ३८ वटा ट्राभल डकुमेन्ट जारी गरेर युक्रेनबाट नेपालीहरुलाई उद्धार गरिएको बताए । ‘हाम्रो पहिलो प्राथमिकता सुरक्षित ठाउँमा पुर्याउने हो । लगभग त्यो काम सफल भएको भन्ने मलाई लागेको छ,’ राजदूत खड्काले भने, ‘अब एनआरएनसँग सहकार्य गर्दै इच्छुकलाई घर फर्काउने तयारी पनि गर्नेछौं ।’