एमसीसीबारे झलनाथ खनाल: असहमति हुँदाहुँदै जबरजस्ती गर्नुहुन्न
नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले दलहरुबीच सहमति नहुँदा नहुँदै अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी सम्झौता संसदमा टेबुल गर्न नहुने बताएका छन् ।
बुधबारको प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले सहमति नहुँदा नहुँदै एमसीसी सम्झौता जबर्जस्ती टेबुल गर्न नहुने बताएका हुन् ।
‘नमिलेका कुरामा जबर्जस्ती हुँदैन । कतिपय विषय वर्षौंवर्ष लगाएर सहमति हुन्छ, कतिपय विषय परिमार्जित हुन्छन्, परिस्कृत हुन्छ, बदलिन्छ अनिमात्रै सहमति हुन्छ’ नेता खनालले भने, ‘असहमतिको विषयमा बल प्रयोग गरेर हुन्छ ? धाकधम्की दिएर हुन्छ ?’
उनले एमसीसी सम्झौतामा राष्ट्रिय हित विपरीतका विषय रहेकाले संशोधन नभएसम्म संसदबाट अनुमोदन हुन नसक्ने पनि बताए । ‘यो सम्झौताभित्र गम्भीर र गम्भीरतम राष्ट्रिय हित विपरीतका कुरा छन् । त्यो कुरा नसच्चिकन ती कुरामा सुधार नभएसम्म एमसीसी पास हुन सक्दैन’ उनले भने ।