अष्टलक्ष्मी मेरै सहमतिमा मुख्यमन्त्री बन्नु भएको हो : माधव नेपाल
बागमति प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य आफ्नै सल्लाहमा मुख्यमन्त्री बनेको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बताएका छन् ।
सोमबार चन्द्रागिरी रिसोर्टमा बसेको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समितिको बैठक पछि पत्रकार सम्मेलन गर्दै नेता नेपालले उक्त कुरा बताएका हुन् ।
नेपालले भने, “उहाँ मेरै चाहना र सुझावअनुसार मुख्यमन्त्रीमा जानुभएको हो, तर उहाँ पनि अफ्ठ्यारोमा हुनुहुन्छ । पार्टी दर्ता भएको २१ दिन भित्र उहाहरूलाई पार्टी रोज्ने अधिकार हुन्छ । त्यो समय भित्र कता रोज्नुहुन्छ त्यो उहाँमाथि भर पर्नुपर्ने कुरा हो । तर अहिले मेरो अनुमतिबाट नै जानुभएको हो ।”
नेपालले एमाले विभाजन हुनुमा अध्यक्ष केपी शर्मा ओली मुख्य जिम्मेवार भएको र ओलीकै कारण पार्टी विभाजन भएको बताए । ओलीले राजनीतिक र वैचारिक रुपमा समेत पार्टी एकलौटी गर्न थालेपछि नेकपा एकिकृत (समाजवादी) गठन गर्न बाध्य भएका पनि बताए ।
आफूहरूसँग केन्द्रीय समिति र संसद दुबैमा २० प्रतिशत भन्दा बढी सदस्य रहेको नेपालको दाबी छ ।