अफगानिस्तानबाट नेपाली नागरिक उद्धारको प्रक्रिया अन्तिम चरणमा
अफगानिस्तानमा रहेका नेपाली नागरिकको उद्धार प्रक्रिया अन्तिम चरणमा पुगेको सरकारी अधिकारीहरुले जनाएका छन् । सरकारी तथ्यांक अनुसार अफगानिस्तानमा १५०० को हराहारीमा नेपाली थिए, तीमध्ये बिहीबार साँझसम्म ९०० नेपाल फर्किसकेका छन् ।
थप २०० जना अफगानिस्तानबाट उद्धार भई दोहा, लण्डन र नयाँ दिल्ली ल्याएइको छ । पछिल्लोपटक बिहीबार ११ जना नेपालीहरु काबुलबाट उद्धार भई नयाँ दिल्ली आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यसैगरी अफगानिस्तानका विभिन्न स्थानबाट उद्धार गरी ४२ जना नेपाली नागरिकलाई काबुल विमानस्थल नजिक ल्याएर राखिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीहरु सबैजना सुरक्षित रहेको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । मन्त्रालयले विज्ञप्तिमा भनेको छ,’विमानस्थल बाहिर जम्मा भएको भिडका कारण एकीकृत गरिएका नेपाली नागरिकलाई विमानसम्म पुर्याउनको लागि विभिन्न तहमा समन्वय भइरहेको छ ।’
यस बाहेक ४६७ जना नेपाली सुरक्षा गार्डहरु युनाइटेड नेसन्स एसिसटेन्ट मिसन र युनिसेफमा सुरक्षा गार्डको रुपमा काम गरिरहेको छन् । उनीहरुमध्ये १०० जनाले घर आउन बिदा लिएका छन् र उनीहरुको छिट्टै नेपाल आउने छन् । तर बाँकी सुरक्षाकर्मीहरुको हकमा भने उनीहरुले घर फर्कने इच्छा व्यक्त गरेका छैनन् ।
यद्यपि नेपाल सरकार उनीहरुको सुरक्षाको बारेमा आश्वस्त हुन खोजिरहेको छ । अफगानिस्तान मामिला हेर्ने नयाँ दिल्लीस्थित नेपाली दूतावासमा उपनियोग प्रमुख रामप्रसाद सुवेदीले अनलाइनखबरसँग भने, ‘दुवै कार्यालयमा काम गर्ने नेपालीहरु क्याम्पमा हुनुहुन्छ र पूर्ण रुपमा सुरक्षित हुनुहुन्छ । ‘
सरकारले अफगानिस्तानको ग्रिन जोनमा काम गर्नका लागि मात्र श्रम स्वीकृति दिने गरेको छ । यस बाहेक अनियमित बाटोबाट गएका र पर्याप्त कागजात नभएकाहरुलाई कागजात बनाएर उद्धार गरिएको छ । अनियमित बाटोबाट गएका र अफगानिस्तानमा प्रवेश गरिसकेपछि काम परिवर्तन गरेका कारण उनीहरुलाई उद्धार गर्न केही कठिनाइ उत्पन्न भएको हो ।
केहीसँग राहदानी समेत नभएका कारण यात्रा अनुमति पत्र जारी गर्न केही समय लागेको छ । अफगानिस्तानमा मूलत सुरक्षा गार्डको रुपमा नै नेपालीहरु जाने गरेका छन् अन्य कामको लागि श्रम स्वीकृति दिने गरिएको छैन् । धेरै नेपाली अमेरिका, क्यानडा, वेलायत, जापानलगायतका दूतावासमा काम गरिरहेका थिए भने अन्य नेपाली युनिसेफ, त्यहाँको राष्ट्रसंघ कार्यालय लगायतका कार्यालयमा काम गरेका थिए ।
तालिबानले अगष्ट ३१ भित्रै सबै विदेशी सेना पूर्ण रुपमा फिर्ता हुनुपर्ने समय सीमा तय गरेपछि त्यस अगाडि नै त्यहाँ रहेका सम्पूर्ण नेपालीहरुको उद्धार गरिसक्नुपर्ने दबाबमा सरकार परेको छ । तालिबानका प्रवक्ता सुहेल साहेनले ३१ अगष्टपछि अमेरिका, बेलायतलगायतका मुुलुकका सेना र नागरिक पूर्ण रुपमा बाहिरिनुपर्ने बताएका छन् । यद्यपि कुनै पनि कानूनी कागजात भएको व्यक्ति ३१ अगष्टको समय सीमापछि पनि कमर्सियल विमानद्धारा बाहिर जानसक्ने बताएका छन् ।