६ वर्षपछि दशरथ रंगशालामा भिड्दै नेपाल र भारत
दक्षिण एसियाली देशहरूको फुटबलमा सबैभन्दा ठूलो प्रतिस्पर्धा हो- साफ च्याम्पियनसिप। सन् १९९३ मा पाकिस्तानको लाहोरमा पहिलो संस्करणको साफ च्याम्पियनसिप भएको थियो। त्यसयता साफका १२ संस्करण सम्पन्न भइरहेका छन्।
१२ मध्ये भारतले ७ पटक उपाधि जितेको छ। माल्दिभ्सले दुई पटक उपाधि जित्दा अफगानिस्तान, श्रीलंका र बंगलादेशले एक-एक उपाधि जितेका छन्। सन् २००५ देखि साफ खेलेको आफगानिस्तानले २०१५ मा अन्तिम पटक साफ खेलेको थियो। अफगानिस्तानले मध्य एसिया फुटबल महासंघमा आबद्ध हुन साफ छाडेको थियो।
नेपाल, पाकिस्तान र भुटानले भने उपाधि जित्न सकेका छैनन्। तीनै टिम अहिलेसम्म साफको फाइनलमा समेत पुग्न सकेका छैनन्।
साफको १३औं संस्करण आगामी महिना माल्दिभ्समा हुने तय छ। सो प्रतियोगितामा उपाधि जित्ने लक्ष्यका साथ तयारी नेपाली टिम गरिरहेको छ। हुन त प्रत्येक संस्करणमा नेपालको लक्ष्य उपाधि जित्ने नै हुन्छ। तर मैदानमा नेपाल सफल हुन सकिरहेको छैन।
अहिले पोखरामा रहेको नेपाली टिम केही दिनपछि साफको तयारीका लागि कतार जाँदैछ। नेपाली टिम कतारबाट सिधै माल्दिभ्स पुग्ने कार्यक्रम छ। त्यसअघि नेपालले साफको सबैभन्दा सफल टिम भारतसँग मैत्रीपूर्ण खेल खेल्दैछ।
आगामी बिहीबार र आइतबार हुने दुवै खेल दशरथ रंगशालामा हुनेछ। दुवै टिमले यो मैत्रीपूर्ण खेललाई साफ च्याम्पियनसिपको तयारीका रूपमा लिएका छन्।