अमेरिकामा प्रहरीद्वारा फेरि अश्वेत युवककाे हत्या, दुई सहरमा कर्फ्यु
प्रहरीको गोली लागेर अमेरिकामा फेरि एक अर्का अश्वेत युवकको निधन भएकाे छ । यसका कारण त्यहाँ तनाव बढेकाे छ । हिंसात्मक प्रदर्शन हुन नदिन अमेरिकाका दुईवटा सहरका मेयरहरूले त्यहाँ आपत्काल घोषणा गरेका छन् । मिनियापलिस र सेन्ट पलका मेयरहरूले रातभरिका लागि ती शहरमा कर्फ्यु लगाएका हुन् ।
बिबिसीका अनुसार आइतवार एक २० वर्षीय अश्वेत युवक डन्टे राइटलाई ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा मिनसोटाको ब्रुकलिन सेन्टरमा कारबाट बाहिर निकालिएको थियो । त्यस क्रममा उनी आफ्नो कारभित्र प्रवेश गर्न खोज्दा खिचातानी भई प्रहरीको गोली लागेर उनको मृत्यु भएको प्रहरीले बताएको छ ।
अमेरिकी प्रहरीले उक्त घटनालाई दुर्घटना भनेकाे छ, तर हत्या भएकाे भन्दै अधिकारवादी र अश्वेत समुदायले उक्त क्षेत्रमा प्रदर्शनहरू बढाएका छन् । प्रदर्शनले उग्र रूप लिन थालेपछि मेयरहरूले आपत्काल घोषणा गरेका हुन् ।
यसअघि पनि प्रहरीले अश्वेत व्यक्ति जोर्ज फ्लोइडको हत्या गरेपछि अमेरिकामा ठूला विराेध प्रदर्शन भएका थिए ।