उत्तर भारतमा ठूलो बाढी
उत्तर भारतमा एउटा हिमनदीमा बाढी आएपछि बाँध भत्कँदा दर्जनौँ वेपत्ता भएको र अहिलेसम्म दुईजनाको शव बरामद भइसकेको बताइएको छ।
उत्तराखण्डस्थित बाँध भत्किएपछि तल्लो तटीय क्षेत्रमा ठूलो भेल पसेको बताइएको छ। कैयन् गाउँहरूबाट मानिसहरूलाई अन्यत्र पठाइएको छ।
अधिकारीहरूले करिब डेढ सय मानिसहरू हराइरहेको हुनसक्ने बताएका छन्। सामाजिक सञ्जालमा राखिएका भिडिओहरूमा बाढीको भेल तीव्र गतिमा पसेर धेरै नोक्सानी पुर्याएको देखिन्छ। चमोली जिलाको धौलीगङ्गा नदीमा तेज गतिमा पानीको प्रवाह भएको देखिएको छ जसले बाँध भत्काइदिएको छ।
हराइरहेकामध्ये अधिकांश त्यहाँ जलविद्युत आयोजना निर्माणमा संलग्न मजदुरहरू रहेको बताइएको छ। "भेल एकदमै छिटो आयो, कसैलाई सावधान गर्न भ्याइएन," नजिकैको गाउँमा रहेका सञ्जयसिँह रानाले रोयटर्स समाचार संस्थालाई बताए।
"मलाई त हामीलाई पनि बगाउँछ जस्तो लागेको थियो।"
प्रधानमन्त्री नरेन्द्र मोदीले अवस्थाको अनुगमन गरिरहेको बताएका छन्। "सबैको कुशलताका निम्ति देशले प्रार्थना गरिरहेको छ," उनले ट्विटरमा लेखेका छन्।
भारतीय वायुसेनालाई उद्धारकार्यका निम्ति तयार राखिएको सरकारले जनाएको छ।