माघ २८ को प्रदर्शन अझ शसक्त बनाउने नेकपाको निर्णय
(काठमाडौं) नेपाल कम्युनिस्ट पार्टी नेकपाले माघ २८ गते काठमाडौंमा प्रदर्शन गर्ने भएको छ। काठमाडौंमा आयोजना हुने जनप्रदर्शनलाई ‘हालसम्मकै विशाल’ बनाउनेबारे योजना बनाएको छ। बिहीबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको नेकपा केन्द्रीय संघर्ष समितिको बैठकले आन्दोलनलाई अझ शसक्त बनाउने निर्णय गरेको छ।
नेकपाको प्रचण्ड-नेपाल पक्षले पुस ५ गते प्रधानमन्त्री ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेपछि त्यसयता चरणबद्ध आन्दोलनका कार्यक्रम गरिरहेको छ। नेकपाले संसद पुनस्थापनाको विकल्प नभएको बताउँदै देशव्यापी विरोध प्रर्दशन र आमसभा आयोजना गर्दै आएको छ।
बैठकमा प्रचण्ड-नेपालले संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयता र समानुपातिक प्रणालीको रक्षाका लागि आन्दोलन अपरिहार्य रहेकाले जनपरिचालन विकल्प नरहेको उल्लेख गरे। पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले संविधान भत्काएर केपी ओलीले चाल्ने कुनै पनि तानाशाही कदमको प्रतिवाद गर्न कार्यकर्तालाई तयार रहन आग्रहसमेत गरे।
अध्यक्षद्वयले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनले देशब्यापी जागरण पैदा गरेको बताएका थिए। विरोधका कार्यक्रममा जनसहभागिता बढाउने र विपक्षी राजनीतिक दल तथा नागरिक आन्दोलनसँग पनि जोडिने बारेमा छलफल भएको नेता विष्णु रिजालले बताए। यसअघि माघ ९ गते नेपाल दाहाल पक्षले काठमडौंमा सरकारको गैर संवैधानिक कमदका विरुद्ध प्रर्दशन गरेको थियो।
उक्त कमदविरुद्ध नेपाली कांग्रेसले पनि चरणबद्ध आन्दोलन गर्दै आएको छ। संघीय निर्वाचन क्षेत्र, जिल्ला, स्थानीय तह र वडा तहसम्म कांग्रेसले विरोधका कार्यक्रम गर्दै आएको छ। सरकारको कमदविरुद्ध दुवै पक्ष एक जुट भए पनि संयुक्त आन्दोलन भने गर्न सकेका छैनन्।