बहुदलीय जनवाद का बारेमा गाउँले ठिटो को सानो कुरा।
सन् १९९० ताका विश्वव्यापीकरण को लहर चली रहेको बेला साना ठूला सबै राष्ट्र मा नव पुँजीवादी र व्यक्ति स्वच्छन्दतावादी हरु हरेक क्षेत्रमा मा उदाय। ठीक यही कालमा राजतन्त्रात्मक मुलुक नेपाल मा कम्युनिस्ट सिदान्त लाई समय सापेक्ष पुनर्व्याख्या गर्दै कम्युनिस्ट राजनैतिक चरित्र भित्र बहुदलीय जनवाद को सृजना गर्दै मदन कुमार भण्डारी नाम गरेको व्यक्तित्व नेपाली राजनैतिक समाज मा उदाए। यद्यपि मदन भण्डारी को वैचारिक उदय भएको एक दशक नबित्दै उनलाई भौतिक रूपमा अस्त गराए। त्यस पछि सुरु भयो नेपाली राजनीति मा राजनैतिक बाद र सिदान्त को उदय र अस्त हिन बहस विवाद। यो काल खण्ड मा यो गाउँले ठिटो पनि ती सबै उदय र अस्त हिन बहस लाई आफ्नै घरको पिढी मा बसेर सुनिरहेको थियो।
तत्कालीन कम्युनिस्ट पार्टी माले र एमाले का वैचारिक महासचिव क मदन कुमार भण्डारी संग यो केटा बेला मौका मा एउटै सवारी साधन मा गफिदै हिँड्थ्यो। यी कुरा अहिले त पत्याउँदैनन्, किन भने अहिले का नेता हरुले युवक केटा संग गफिनै पाउँदैनन्। अहिले त नव युवा संग गफिनु भन्दा नव पूँजीपति र दलाल संग गफीनु नै उच्च नाफा ठान्छन् नेता हरु।
वि.स .२०४७ साल देखि यो ठिटो काठमाडौं जिल्ला को चाल्नाखेल भन्ने गाउँको प्राथमिक विद्यालय मा माष्टरी काम गर्थ्यो। कामनपा १५ डल्लु स्थित एक घर को ११ बाई १३ को भुइतल्ले कोठा मा यो ठिटो को बास थियो त्यहाँ बाट हिँड्दै कालीमाटी सम्म आएपछि दक्षिणकाली जाने बस चढी चाल्नाँखेल पुग्थ्यो।
दुइसभरी पढाउँथ्यो, साँझ फेरि जता बाट गयो उतै फर्किन्थ्यो अनि राजनैतिक परिवार मा हुर्के बढेका समीर नेपाल भन्ने अर्का व्यक्तित्व संग तत्कालीन राजनैतिक पार्टी का बारेमा फेरि गफिन्थ्यो। तीन ताका डल्लु क्षेत्र मा अहिलेका थुप्रै इनेगिनेका नेताहरु को बसाई थियो, नाम चाई नभनु किन भने अहिले वाँहा हरुको राजकीय बास मा दाग लाग्न सक्छ।
यो ठिटो को पुर्ख्यौली राजनीति पञ्चायत इतर थियो र नेपाली कांग्रेस पक्ष थियो। त्यसैले २०४५ तिर काठमाडौं छिरेको यो ठिटो एकाध पल्ट चाक्सिबारी को अग्लो पर्खाल भित्र पनि पुग्याथ्यो। २०४६ साल को आन्दोलन मा चारतारे र हँसिया हथौडा अंकित झण्डा बोक्दै राधा कृष्ण मैनाली, तुलसी लाल अमात्य को अजङ को ज्यान पछाडि पछाडि दौडन्थ्यो। तुल बाहादुर गुरुङ, घनश्याम भुसाल, शंकर पोख्रेल जस्ता युवा लाई नियालेर हेर्थ्यो। अनि रूपनारायण श्रेष्ठ जस्ता तत्कालीन लडाकु युवाहरु को पछाडि गुटुटु कुदथ्यो। यतिकै मा यो ठिटो पुर्खौली राजनीतिक विरासत लाई चट्ट छोडी यिनै का पछाडि लाग्न थाल्यो।
मदन भण्डारी को भाषण सुन्थ्यो अनि मोदनाथ प्रश्रित को साइकल डोर्याई सँगै काठमाडौं को खुला मंच देखि डल्लु सम्म गफिदै आउँथ्यो। आखिर गाउँले ठिटो मदन भण्डारी को पार्टी को भै हाल्यो।
तत्कालीन समय मा चाल्नाखेल र फर्पिङ लाई पार्टी ले काठमाडौं को दक्षिण क्षेत्र भनी नामाकरण गरेको थियो। आफू माष्टरी पेसा मा संलग्न अर्धबयस्क ठिटो, चाल्नखेल मा पार्टी को कमिटी बनाई पार्टी कार्यालय खोल्ने जंग चलायो, अनि त्यसै अनुसार गरियो। त्यसबेला पार्टी को बागमती कार्यालय काठमाडौं को परोपकार स्कूल नजिकै थियो। त्यहाँ आएर कृष्ण गोपाल श्रेष्ठ लाई भेटे पछी वाँहा ले पनि हौसिदै पार्टी महा सचिव लाई चल्नाखेल को पार्टी कार्यालय उद्घाटन गराउने भनी मेरो कान्फुसे ठोक्दिनु भयो। काम पनि भयो, मदन भण्डारी संग कसिलो मुट्ठी उठाउँदै लालसलाम भन्दै अभिवादन पनि गरियो त्यस पश्चात उहाँ संग आत्मीय भेटघाट हुँदै गयो, दक्षिण क्षेत्र तिर वाँहा जानुहुदा चाल्नाखेल प्रावि पुगेपछि गाडी को हर्न बजाउँदै गाडी मा बस्न भन्नु हुन्थ्यो अनि छैमले लगायत काठमाडौं का दुर्गम क्षेत्र मा पार्टी को काम मा हिडिन्थ्यो।
संसार मा कम्युनिस्ट पार्टी संकट मा परेको बेला पश्चिमा देश ले भन्ने गरेको हिमाली देश नेपाल मा तेही कम्युनिस्ट पार्टी चम्किलो हुँदै थियो। मदन भण्डारी कम्युनिस्ट हरुको नयाँ अस्तित्वको लागि बहुदलीय जनबादी सिदान्त कोर्दै हुनुहुन्थ्यो। मलाई थाहा भए अनुसार त्यसबेला उहाँलाई वैचारिक रूप मा सघाउन जीवराज आश्रित, मोदनाथ प्रश्रित, राजेन्द्र श्रेष्ठ, प्रदीप नेपाल, अशोक राई, संकर पोख्रेल लगायत का नेता कार्यकर्ता हरु अग्रपंतिमा हुनुहुन्थ्यो। यद्यपि यी नाम हरु अहिले मदन भण्डारी को उत्तराधिकारी पार्टी नेकपा मा दुर्लभ नै छ।
बहुदलीय जनवाद को सैदान्तिक भाषा भलै यो गाउँले ठिटो उति साह्रो बुझ्दैन थियो, तर मदन भण्डारी सँगै चाल्नाखेल देखि कालीमाटी सम्म आउँदा झरी मा पानी नरोकिए पछि त्यहाँ देखि डल्लु सम्म पुग्दा यो ठिटो बर्खा को पानी ले भिज्छ की भने आफ्नो छाता मलाई दिनु हुन्थ्यो अनि आफू चाई नक्साल स्थित आफ्नो डेरा तिर लाग्नु हुन्थ्यो बहुदलीय जनवाद का भण्डारी।
फेरि केही हप्ता पछि काठमाडौं को दक्षिण भेग मा पार्टी को कामले भण्डारी जानु हुन्थ्यो बाटो मा गाडी रोकी आज नजाऊ केटा केटी लाई नै पढाएर बस्नु फर्किदा सँगै शहर जाउँला भन्नु हुन्थ्यो बहुदलीय जनवादी मदन भण्डारी, गर्न पनि त्यस्तै गर्नु हुन्थ्यो । एक दिन बहुदलीय जनवाद भित्र को अर्थ नीति बारे यो ठिटो ले क मदन भण्डारीसँग गाडी भित्रै ठाडो प्रश्न तेर्स्याए पछि स्याबास केटा गजब को प्रश्न गर्यौ, गजब कै उत्तर दिन्छु भनी अगाडि सिट मा बस्नु भएका भण्डारी जिराफि पारा ले पछाडि हामी भएतिर फर्की बहुदलीय जनवाद भीत्र को आर्थिक नीति ले यात्रामा गाडी बाट ओर्लेर गन्तव्य मा पुग्न झरी को बेला भिज्न बाट जोगाउन मेरो छाता तिमीलाई दिए जस्तै गरी राष्ट्र पुँजी पति ले जनसाधारण को हितका लागि आफ्नो बचत पुँजी प्रयोग गर्नेछन् भनी भण्डारी भन्नु हुन्थ्यो। त्यस उप्रान्त यही कुरा बुझे बहुदलीय जनबाद का बारेमा। सिदान्त कण्ठस्त गरिन्। छाता सँझि रहें, बहुदलीय जनवाद बुझी रहें।
आज खोज्छु, खोइ त्यो बहुदलीय जनवाद, खोइ त्यो नेता, खोइ त्यो ठिटो?