इजिप्टमा भीषण बस दुर्घटना, २२ जनाको मृत्यु, २८ घाइते
इजिप्टको पूर्वी क्षेत्रमा बुधबार बिहान भएको भीषण बस दुर्घटनामा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्।
इजिप्टको स्वास्थ्य मन्त्रालयका अनुसार दुर्घटना दक्षिण सिनाई प्रान्तअन्तर्गत रेड सी तटमा पर्ने पर्यटकीय सहर दाहाब र नुवेइबा जोड्ने सडकमा भएको हो। घाइते सबैलाई उपचारका लागि तीनवटा अलग–अलग अस्पतालमा भर्ना गरिएको छ।
दुर्घटनामा मृत्यु हुनेमध्ये १० जनासम्म जोर्डनका नागरिक हुन सक्ने इजिप्ट र जोर्डनका सञ्चारमाध्यमले जनाएका छन्। यद्यपि, मृतकको राष्ट्रियताबारे आधिकारिक रूपमा विस्तृत विवरण सार्वजनिक भइसकेको छैन।
दुर्घटनाको कारण पनि अहिलेसम्म खुल्न सकेको छैन। दुर्घटनाका बेला बसमा कति यात्रु सवार थिए भन्ने विवरणसमेत स्पष्ट भइसकेको छैन। घटनाबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको जनाइएको छ।
दाहाब र नुवेइबा विश्वभरका पर्यटकका लागि लोकप्रिय गन्तव्य हुन्। समुद्री तट तथा विभिन्न पर्यटकीय गतिविधिका कारण यी क्षेत्रमा ठूलो संख्यामा स्वदेशी तथा विदेशी पर्यटक पुग्ने गर्छन्।
इजिप्टमा सडक दुर्घटना गम्भीर समस्याका रूपमा रहँदै आएको छ। सरकारी तथ्यांकअनुसार सन् २०२५ मा मात्रै सडक दुर्घटनामा झन्डै ६ हजार जनाको मृत्यु भएको थियो। तीव्र गति र लापरबाहीपूर्ण सवारी सञ्चालन तथा सडकको कमजोर मर्मतसम्भारलाई दुर्घटनाका प्रमुख कारणका रूपमा औंल्याउने गरिएको छ।
गत महिना उत्तरपूर्वी इस्माइलिया प्रान्तमा दुईवटा ट्रक आपसमा ठोक्किँदा १८ जनाको मृत्यु भएको थियो भने ३० जना घाइते भएका थिए।