भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन
भोटेकोशी बाढीमा परी घाइते भएकाहरूका लागि स्याङ्जामा रगत सङ्कलन गरिएको छ । जिल्ला रेडक्रस सोसाइटी स्याङ्जाको प्राविधिक सहयोगमा आज भीरकोट बयरघारीमा रक्तदान शिविर सञ्चालन गरी १११ पिन्ट रगत सङ्कलन गरिएको हो ।
घाइतेको सङ्ख्या धेरै भएकाले रगतको अभाव हुनसक्ने भएकाले रगत अभाव हुन नदिन रक्तदान शिविरमार्फत स्वतःस्फूर्त रुपमा रगत सङ्कलन गरिएको नेपाल तरुण दल स्याङ्जाका अध्यक्ष भागवत प्रकाश मल्लले बताए ।
देशमा सङ्कट आएका बेला मानवीय सहयोगमा जुट्नुपर्छ भन्ने भावनाबाट अभिप्रेरित भई रक्तदान शिविरको आयोजना गरिएको उनले बताए । शिविरमा रक्तदाताहरू स्वतःस्फूर्त रुपमा सहभागी भएका थिए ।
यहाँ सङ्कलन भएको रगत नेपाल रेडक्रस सोसाइटीको स्याङ्जास्थित ‘ब्लड बैंक’ मा राखिने र आवश्यकताका आधारमा पठाउने व्यवस्था मिलाइने नेपाल रेडक्रस सोसाइटी स्याङ्जाका अध्यक्ष दिनेश अर्यालले जानकारी दिए ।