देहरादुनमा कुटिएका ३९ विद्यार्थी काठमाडौं आइपुगे
(काठमाडौं) दसैं टीकाका दिन भारतको देहरादुनमा निर्घात कुटिएका मध्ये ३९ विद्यार्थी काठमाडौं आइपुगेका छन् । उनीहरूलाई बिहीबार स्वयम्भुबाट अभिभावकको जिम्मा लगाइएको छ । फर्किनेहरूमा सिन्धुपाल्चोक, रामेछाप, बाग्लुङ, रुकुम, हुम्ला, जुम्ला लगायत १९ जिल्लाका विद्यार्थी छन् ।
दसैंका बेला घर फर्कन लागेको निहुँमा देहरादुनस्थित शाक्य एकेडेमीका अध्यक्ष तथा प्रमुख लामा रिम्पोचे ज्ञानबज्रले नेपाली विद्यार्थीमाथि कुटपीट गरेका थिए । नेपाली विद्यार्थी कुटिएको समाचार १२ कात्तिकमा विभिन्न संघसंस्थाले विद्यार्थी फर्काउने चासो देखाएका थिए ।
लामाले फलामको रडले अन्दाधुन्द प्रहार गर्दा ५१ मध्ये ४२ विद्यार्थी घाइते भएका थिए । एकेडेमीका प्रिन्सिपल छिरिङ छोदेनले विद्यालयको तर्फबाट गल्ती भएको स्वीकार्दै दोषीलाई आवश्यक कारबाही गर्ने लिखित प्रतिबद्धता जनाएका थिए ।
अभिभावकले विद्यार्थी फर्काउन दवाव दिएपछि एकेडेमीले दुई जना स्टाफ सहित विद्यार्थीलाई नेपाल फर्काएका हुन् । कुटिएका मध्ये केही विद्यार्थी भने महेन्द्रनगर हुँदै यसअघि नै नेपाल फर्किसकेका छन् ।